जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
नारायणी नदी किनारको क्षतिको स्थलगत अनुगमन तथा निरीक्षणपछि आज उद्योग वाणिज्य संघ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा बोल्दै सभापति लामिछानेले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्व र व्यवसायीको सम्पत्ति जोगाउनु नै अहिलेको प्रमुख प्राथमिकता भएको स्पष्ट पारे।
बजार क्षेत्रमा देखिएको जोखिमबारे उद्योग वाणिज्य संघले जानकारी गराएलगत्तै आफूले सम्बन्धित सबै निकायलाई सजग गराएको र आवश्यक अध्ययन तथा योजना निर्माणका लागि टोली परिचालन गरिसकिएको उनले बताए। प्राविधिक अध्ययनका आधारमा भविष्यमा बजार क्षेत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा सबै सरोकारवाला एकमत भएर निर्णय प्रक्रियामा सहभागी हुनुपर्ने उनको भनाइ थियो।
‘जनता जोगाउनका लागि बजेट दोस्रो कुरा हो, पहिलो प्राथमिकता नागरिकलाई कसरी जोगाउन सकिन्छ भन्ने नै हो,’ लामिछानेले भने, ‘चितवन मेरो निर्वाचन क्षेत्र भएकै कारण मात्र नभई आवश्यकताका आधारमा राज्यले स्रोतसाधन परिचालन गर्नुपर्छ। कर्णाली, सुदूरपश्चिम र मधेसलगायतका क्षेत्रका बाढी प्रभावित नागरिकका समस्या पनि उत्तिकै महत्त्वपूर्ण छन्।’
अध्ययनबाट पहिचान भएका योजनाहरूका लागि स्रोत सुनिश्चित गर्न आफूले आवश्यक पहल गर्ने आश्वासन दिँदै उनले उद्योग वाणिज्य संघ चितवनलाई समयमै जोखिमबारे सजग गराएकोमा धन्यवाद व्यक्त गरे।
सोही छलफलमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नदी कटानको समस्यालाई गम्भीरतापूर्वक लिएर समाधानका लागि सुरुदेखि नै पहल गरेकोमा सभापति लामिछानेप्रति आभार व्यक्त गर्दै समस्याको दीर्घकालीन समाधान हुने गरी काम गर्न आग्रह गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment