अमेरिका र दक्षिण कोरिया उत्तरसँग वार्ता गर्न सहमत

डिसी नेपाल
२१ मंसिर २०७६ १७:४८

सोल (रासस/सिन्हवा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् ।

उनीहरुबीच शनिबार बिहान फोन वार्ता भएको दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उनीहरुबीच उत्तर कोरियाका कारण कोरियाली प्रायद्धीपको अवस्था झन खराब हुँदै गएको भन्दै त्यसका लागि पनि जतिसक्दो चाँडै वार्ता गर्नुपर्नेमा सहमति भएको बताइएको छ ।

यसअघि अमेरिका र उत्तर कोरियाबीच भियतनामको हनोइमा भएको वार्ताका क्रममा निशस्त्रीकरणका लागि उत्तर कोरिया अघि बढ्ने सहमति भएको भनिएको भए पनि त्यसो हुन नसकेको पाइएको छ । यसैका कारण उत्तर कोरियासँगको वार्ता अवरुद्ध भएको र राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा उत्तर कोरियामा झन बढी समस्या देखिएको बताएका थिए । शनिबार बिहान भएको फोन वार्ता यसै विषयमा केन्द्रित रहेको बताइएको छ । यस विषयमा उनीहरु सहमत पनि भएको प्राप्त समाचारमा जनाइएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका प्रवक्ताको मिन जुनले भनेका छन्, ‘वार्ता कोरियाली प्रायद्धीपको वर्तमान अवस्थाका बारेमा थियो र त्यहाँको पछिल्लो अवस्था डरलाग्दो हँुदै गएकोले यसका लागि उत्तर कोरियासँग वार्ता गर्नुपर्नेमा उहाँहरु सहमत हुनुभएको छ ।’

प्रवक्ता जुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली राष्ट्रपति इनलाई फोन गरेको जानकारी दिए । टेलिफोन वार्तापछि उत्तर कोरियाका कारण कोरियाली प्रायद्धीपको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएकाले उत्तर कोरियाको आणविक निशस्त्रीकरणसम्बन्धी प्रतिबद्धताको निरन्तरताका लागि पनि वार्ता गर्नु आवश्यक भएको उनले बताए । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि ठोस प्रगति हुन नसकेको दक्षिण कोरियाले शुक्रबार मात्र बताएको थियो । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका उपप्रवक्ता किम इयोन हानले शुक्रबार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलन सो धारणा राखेका थिए । उनले भनेका थिए, “आणविक कार्यक्रम र निःशस्त्रीकरणका विषयमा अमेरिका र उत्तर कोरियाबीच सहमति कायम भएको छ भन्ने लाग्दैन, उनीहरु अझै पनि यस विषयमा वार्तामा नै छन् । यस विषयमा हालैमात्र पनि उत्तर कोरियाले आफ्नो धारणा सार्वजनिक गरेको थियो । उत्तर कोरियाले पनि अमेरिकासँग सहमति हुन नसकेको आशय व्यक्त गरेको थियो ।”

तर दक्षिण कोरियाले भने अमेरिका र उत्तर कोरियाबीच यस विषयमा वार्ता होस् भन्ने चाहेको उनको भनाइ थियो । ‘उत्तर कोरिया र अमेरिकाबीच शान्तिवार्ता होस् र दिगो शान्तिका लागि पहल होस् भन्ने पक्षमा दक्षिण कोरिया रहेको छ’, पप्रवक्ता किम इयोन हानले शुक्रबार सोलमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए । हालै मात्र एक जना उत्तर कोरियाली मन्त्रीले पनि यसै आशयको भनाइ सार्वजनिक गरेका थिए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको विरोध गरेका थिए । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका विरुद्धमा सैन्य शक्ति पनि प्रयोग हुन सक्ने भन्दै यसको सम्भावनाको बारेमा धारणा राखेका थिए । सो विषयमा उत्तर कोरियाले अमेरिकाको विरोध गरेको छ । गत मङ्गलबार उनले नेटोको बैठकका क्रममा सो धारणा राखेका थिए ।

तर यस भनाइको उत्तर कोरियाले व्यापक विरोध गरेको छ । राष्ट्रपति ट्रम्पले सकेसम्म यस्तो सैन्य शक्तिको प्रयोग उत्तर कोरियाको विरुद्धमा गर्नु नपरोस् यदि गर्नुपर्यो भने पनि अमेरिकाले गर्नेछ भनी टिप्पणी गरेका थिए । अमेरिका र उत्तर कोरियाको यो भनाइपछि शुक्रबार यता दक्षिण कोरियाको तर्फबाट पनि यस्तो भनाइ सार्वजनिक भएको थियो । यसैका आधारमा दक्षिण कोरियाले उत्तर कोरिया र अमेरिकाका बीचमा निःशस्त्रीकरणका बारेमा कुरा नमिलेको अनुमानसहितको यो धारणा राखेको हो । केही दिनमात्र अघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निःशस्त्रीकरणमा नजाने हो भने संयुक्तराज्य अमेरिकाले उसमाथि नाकाबन्दी लगाउने बताएका थिए । अमेरिका र उत्तर कोरियाबीच सिङ्गापुरमा भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निःशस्त्रीकरणको विषयमा सहमत भएको बताइएको थियो । तर पनि उत्तर कोरियालाई आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप रहँदै आएको छ । तैपनि आफूहरू सोही प्रक्रियामा भएको उत्तर कोरियाको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोईमा दोस्रो चरणको वार्ता भएको थियो । सो शिखर वार्तामा कुनै उल्लेखनीय विषयमा सहमति नभए पनि वार्ता भने सौहार्दपूर्ण नै भएको बताइएको थियो । हनोई वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिक्रिया दिएका थिए । पहिलो चरणको वार्तामा निःशस्त्रीकरणको प्रतिबद्धता अघि सारेको उत्तर कोरियाले भने सोही बमोजिम काम गरिरहेको बताइरहेको भए पनि त्यसमा कुनै प्रगति हुन नसकेको अमेरिकी भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *