युक्रेनको किभ नजिकै रहेको हातहतियार गोदाममा रुसी ड्रोन आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु
काठमाडौं । युक्रेनमा सेनाको हातहतियार भण्डारण गरिएको एक गोदाममा रुसले गरेको ड्रोन आक्रमणमा परी ३७ जनाको मृत्यु भएको छ। करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको छ। हातहतियारको यो गोदाम राजधानी किभको बाहिरी आवासीय क्षेत्र नजिकै रहेको थियो।
शुक्रबार अबेर राति भएको आक्रमणपछि गोदाममा राखिएका गोलाबारुद, बारुदी सुरुङ र ड्रोनहरूमा श्रृङ्खलाबद्ध विस्फोट हुन थालेको थियो। विस्फोटका कारण वरपरका कैयौँ भवनहरूमा क्षति पुगेको छ। क्षति पुगेका संरचनाहरूमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको रेखदेखका लागि बनाइएको एक हेरचाह केन्द्रसमेत रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन्।
राष्ट्रपति जेलेन्स्कीले हातहतियारको यति ठूलो भण्डार घना बस्ती भएको क्षेत्र नजिक हुनै नहुने बताए। उनले यस मामिलाको छानबिन सुरु भइसकेको र सर्वसाधारणको घर नजिकै विस्फोटक पदार्थ राख्नेहरूको गम्भीर लापर्बाहीबारे पनि अनुसन्धान गरिने बताएका छन्।
किभ नजिकै कुनै हातहतियार गोदाममाथि पछिल्लो केही महिनाभित्र भएको यो दोस्रो आक्रमण हो। यस घटनापछि स्थानीय नागरिकहरूमा आक्रोश पुनः बढेको छ।
रुसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्ना सैनिकहरूले किभको पश्चिममा रहेको मायला गाउँस्थित गोलाबारुद गोदामलाई निशाना बनाएको जनाएको छ।
रुसका अनुसार उक्त गोदाममा एफपी-१ र एफपी-२ लामो दूरीका ड्रोनका पार्टपूर्जा र तिनलाई लन्च गर्ने बुस्टरहरू राखिएका थिए। यस विस्फोटबाट गाउँका करिब १३० वटा घरमा क्षति पुगेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment