कलिली ‘जलपरी’को विशाल कीर्तिमान, भाग लिएपछि सबैमा पदक

डिसी नेपाल
२४ मंसिर २०७६ ११:३९

काठमाडौं । जलपरी भनेर चिनिने नेपाली पौडीबाज गौरिका सिंहले कलिलै उमेरमा गौरवशाली किर्तिमान बनाउँदै नेपालको खेल क्षेत्रमा अतुलनीय योगदान दिएकी छिन् । उनले एउटै सागमा ४ वटा स्वर्ण जितिन् । यससँगै उनले दीपक विष्टको सागमा ४ स्वर्ण जितेको रेकर्ड बराबरी गरिन् । दीपकले लगातार ४ सागमा १–१ गरी ४ स्वर्ण जितेका थिए । गौरिकाले भने एउटै सागमा ४ स्वर्ण जित्दै नयाँ किर्तिमान समेत बनाइन् ।

जारी सागमा उनले ८ प्रतिस्पर्धामा भाग लिएकी थिइन् । उनी कुनै पनि प्रतिस्पर्धामा पदकविहीन रहिनन् । ४ वटा प्रतिस्पर्धामा स्वर्ण जितेकी गौरिकाले २ प्रतिस्पर्धामा रजत र २ प्रतिस्पर्धामा कास्य पदक जितिन् । मात्रै १७ वर्षकी गौरिकाले यो सागमा नेपालको लागि सर्वाधिक स्वर्ण जित्ने खेलाडीको किर्तिमान बनाइसकेकी छिन् र उनीसँग यो किर्तिमानभन्दा कैयौं माथिसम्म पुग्ने समय छ । सागमा ४ स्वर्ण जित्ने अर्का खेलाडी दीपक बिष्टले खेलजीवनबाट सन्यास लिइसकेकाले उनी अगाडि जाने सम्भावना छैन तर गौरिकासँग अझै कम्तीमा डेढ दशकको सक्रिय खेलजीवन बाँकी नै छ ।

जारी सागमा गौरिकाले एक सय मिटर फ्रिस्टाइल, दुई सय मिटर फ्रिस्टाइल, दुई सय मिटर ब्याकस्ट्रोक र चार सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण चुमेकी छिन् । सोमबार भएको एक सय मिटर फ्रिस्टाइल स्पर्धामा गौरिकाले निर्धारित दूरी ५८.१३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा उनले भारतीय खेलाडी शिवांगी शर्मालाई पछि पारिन् । यसअघि दुई स्पर्धामा स्वर्ण जित्दा पनि उनले शिवांगीलाई नै पछि पारेकी थिइन् । एउटा स्पर्धामा भने उनले श्रीलंकाली खेलाडीलाई हराएकी थिइन् ।

गौरिकाले सागको एउटै संस्करणमा चारवटा स्वर्ण पदक जितिन् । यसअघि कुनै नेपाली खेलाडीले एउटै सागमा २ स्वर्ण पनि जित्न सकेका थिएनन् । गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित रजत, एक सय मिटर ब्याकस्ट्रोकमा रजत, आठ सय मिटर फ्रिस्टाइल रिले र चार सय मिटर फ्रिस्टाइल रिलेमा कांस्य जितिन् । सागमा गौरिकाको यो दोस्रो सहभागिता हो । यसअघि सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा आयोजित १२औं सागमा पनि उनले भाग लिएकी थिइन् । उक्त सागमा उनले रजत र कांस्य पदक जितेकी थिइन् । सन् २०१६ मा आयोजित रियो ओलम्पिकमा उनले सबैभन्दा कम उमेरकी खेलाडीको विश्वरेकर्ड बनाएकी थिइन् । त्यति बेला उनी मात्र १३ वर्षकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *