निर्भयाका दोषीलाई फाँसीको व्यवस्था भएको तिहाड जेलमा सारियो

डिसी नेपाल
२४ मंसिर २०७६ १२:१२

नयाँ दिल्ली। भारतको बहुचर्चित निर्भया बलात्कार र हत्याकाण्डका दोषी विनय शर्मालाई दिल्लीको तिहाड जेलमा सारिएको छ । यसअघि विनयलाई मंडोली जेलमा राखिएको थियो । २०१२ मा दिल्लीमा भएको निर्भया काण्डका ४ दोषीहरुलाई फाँसीको सजाय सुनाइसकिएको छ ।

विनय शर्माबाहेकका अन्य ३ दोषी पहिल्यैदेखि तिहाड जेलमै छन् । हालै हैदराबादमा महिला डाक्टरको बलात्कारपछि हत्याको घटनापछि देशैभरी यसप्रकारका दोषीविरुद्ध आक्रोश बढिरहेको छ । यही समयमा १६ डिसेम्बर पनि नजिक आउँदैछ जुन मितिमा ७ वर्षअगाडि निर्भयाको बलात्कारपछि हत्या भएको थियो ।

अब निर्भया काण्डका चार दोषीहरु विनय, मुकेश, पवन र अक्षय सबै तिहाट जेलमा जम्मा भएका छन् । यो जेलमा फाँसीको सजाय पाएका दोषीहरुलाई फाँसी दिने व्यवस्था छ । विनयलाई पहिले राखिएको मंडोली जेलमा भने फाँसी दिने व्यवस्था छैन ।

यी चारैजनालाई तल्लो अदालतले फाँसीको सजाय सुनाएपछि उनीहरु उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन गर्न गएका थिए तर सबै अदालतले फाँसीको सजाय कायम राखेपछि उनीहरुले राष्ट्रपतिसमक्ष क्षमाको लागि निवेदन दिएका छन् ।

राष्ट्रपतिले समेत क्षमाको याचिका खारेज गरेमा उनीहरुलाई फाँसी दिइनेछ । यस विषयमा राष्ट्रपतिले निर्णय गर्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *