चारवटा परियोजनाका लागि एडीबीसँग ४० अर्ब ५८ करोडको ऋण सम्झौता

डिसी नेपाल
२४ मंसिर २०७६ १३:२७

काठमाडौं। एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता भएको छ।

सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नती, बागमती नदीको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर अर्थात ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणका लागि एडीबीसँग सम्झौतामा गरेको हो।

ऋण सहयोग सम्बन्धी उक्त सम्झौतामा मंगलबार एक कार्यक्रम गरी सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडिबिका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गरे।

कार्यक्रममा एडिबिका देशिय निर्देशक खामुद्खानोभले मुग्लिङ–पोखरा सडकको स्तरोन्नती गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदीमा बाढी व्यवस्थापन तथा नदीको सुधारका लागि ६ कारेड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५/५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको बताए।

कार्यक्रममा अर्थसचिव राजन खनालले पोखरा–मुग्लिङ सडकको स्तारोन्नतीका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताए। त्यसमध्ये एडीबीको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहने बताए।

उनले उक्त सडकखण्डको आँबु खैरेनी देखि पोखरा सम्मको ८१ किलोमिटर सडक चार लेनको बनाइने समेत बताए।

अर्थसचिव खनालले सडकको स्तरोन्नती गरिएपछि पूवार्धारको विकास मात्र नभएर सुरक्षित यात्रा र पर्यटन विकासमा सहयोग पुर्याउने विश्वास गरे। एडीबीले नेपालमा पूर्वाधार विकास, कृषि तथा ग्रामिण विकासका लागि सहयोग गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *