विद्युत् विस्तारको विवाद समाधान

डिसी नेपाल
२४ मंसिर २०७६ २१:०२

बाँके । बाँकेको कोहलपुर–धामपुर विद्युत् प्रसारण लाइन विस्तारमा देखिएको विवाद समाधान भएको छ । संवाद समूह, बाँकेको सहजीकरणमा मंगलबार कोहलपुरमा भएको संवादपछि सहमति गरिएको हो ।

कोहलपुर–धामपुर ३३ केभी प्रसारण लाइन विस्तारको कार्य भइरहेका बेला कोहलपुर नगरपालिका—१० चटारमा करिब दुई हप्तादेखि स्थानीयवासीको अवरोध रहँदै आएको थियो । मंगलबार स्थानीय जनप्रतिनिधि, सरोकार निकाय, स्थानीयवासी समेतको उपस्थितिमा भएको संवादमा सबैले विद्युत् विस्तारमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएपछि रोकिएको काम पनि आजैबाट शुरु भएको समूहका सहजकर्ता शुक्रऋषि चौलागाईंले बताए ।

बाँकेको विकट मानिने राप्तीपारि क्षेत्रमा विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुरबाट राप्ती सोनारी गाउँपालिका–४ मा रहेको धामपुर सबस्टेशनसम्म ४५ किलोमिटर दूरीमा ३३ केभी लाइन विस्तार गरिरहेको छ । कोहलपुर सबस्टेशनकै नजिकै चटार गाउँ सडक किनारबाट लाइन विस्तार गर्न खोज्दा मङ्सिर १० गतेदेखि विस्तारको काम रोकिएको थियो । लामो समयदेखि ठेकेदारले अलपत्र पारेको ठेक्का तोडेर प्राधिकरणले लाइन विस्तार गरिरहेको हो ।

चटार क्षेत्रमा चारवटा मात्रै पोल गाड्नुपर्ने स्थिति रहेका बेला स्थानीयवासी ६५ जनाले घनाबस्ती भएको कारण देखाउँदै अन्यत्रबाट तार तान्न माग गर्दै मङ्सिर १३ गते वडा कार्यालयमा निवेदन दिएका थिए । विद्युत् विस्तार विवादको प्रारम्भिक अध्ययन, विश्लेषण र स्थलगत भेटवार्तामार्फत संवाद प्रक्रियालाई टुङ्गोमा पु¥याइएको समूहका सहजकर्ता चौलागाईंले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *