बसाइँसराइले मासिँदै सुदूरपश्चिमकाे लोक संस्कृति

डिसी नेपाल
२५ मंसिर २०७६ १६:५८

कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लाबाट स्थानीयवासी तराई क्षेत्रमा वर्षेनी बसाइँसराइ गर्न थालेपछि यहाँको लोकसंस्कृति मासिँदै जान थालेको छ ।

स्थानीयवासीको बसाइँसराइसँगै पछिल्लो समय यहाँका पहाडी जिल्लामा मनाइने लोकसंस्कृति लोप हुँदै जान थालेका छन् । बसाइँसराइसँगै पुराना तथा लोकसंस्कृतिको जगर्ना गर्ने पनि तराईतिर जान थालेपछि यहाँको लोक संस्कृति लोप हुने खतरामा पुगेको हो ।

बसाइँसराइकै कारण यहाँका पहाडी जिल्लामा बजाइने पञ्चैबाजा, हुड्के नाच, पुतलापुतली नाच, लाखे नाच, भुँवा नाच, पुराना डेउडा नाचलगायतका संस्कृति लोप हुने अवस्थामा पुगेका छन् । पहाडी समुदायका मानिस निरन्तररूपमा बसाइ सरेर तराई केन्द्रित हुँदा पहाडी संस्कृति मासिँदै जान थालेको दिपायल राजपुरका बृद्ध कुँवेरजङ्ग शाहले बताए। उनले भने, “बसाइँसराइसँगै यहाँका लोकसंस्कृति पनि लोप हुने अवस्थामा परेका छन्, लोकसंस्कृति जोगाउनका लागि भए पनि अब बसाइँसराइ रोक्नु जरुरी छ ।”

पहाडी क्षेत्रको रीतिरिवाज, चालचलनमा बसेका मानिस अर्कै ठाउँमा पुग्दा मौलिक संस्कृति स्वतः गुम्ने खतरा हुने गरेको सायल गाउँपालिकाका सिद्धराज जोशीले बताए । उनले भने, “पहाडी क्षेत्रको संस्कृति तराईमा खासै प्रयोग नहुने भएकाले यहाँका मानिस तराई जाँदा त्यो संस्कृति त्यतिकै लोप हुन थालेको छ ।”

पछिल्लो समय डोटीलगायत यहाँका पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला, बैतडी तथा बझाङबाट तराई झर्ने मानिसको सङ्ख्या बढ्दो छ । बसाइँसराइसँगै पहाडका गाउँघर खाली हुने गरेका जोरायल गाउँपालिका–५ का डम्बर विष्टले बताए। उनले भने, “बसाइँसराइले बस्ती त खाली हुने नै भए हाम्रा पहाडी संस्कृति लोप हुँदै गएको छ ।” पहाडमा सामूहिक रूपमा मनाइने चाडपर्वलाई समेत बसाइँसराइले निकै प्रभाव पारेको उनको भनाइ छ ।

संस्कृतिका विषयमा जान्ने व्यक्तिहरूले बसाइँ सर्दा संस्कृति नै लोप हुने अवस्थामा पुगेको दिपायलका समाजसेवी घनश्याम पाठकले बताए। उनले भने, “संस्कृतिका विषयमा जान्नेहरु नै बसाइ सरेर गएपछि पहाडमा कसरी संस्कृतिको जगेर्ना हुनु नि ।” तराई बसाइँसराइसँगै आफ्ना मौलिक संस्कृति भुल्दै जाने क्रम बढेकाले कालान्तरमा पहाडी क्षेत्रको संस्कृति नै लोप हुने खतरा रहेको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट निरन्तर बसाइँसराइ भइरहेकाले यसलाई रोक्न पहाडी क्षेत्रको विकास गर्नुपर्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

उनले भने, “पहाडी क्षेत्र हराभरा गर्नु छ र यहाँको संस्कृति जोगाउनु छ भने पहिले बसाइँसराइ रोक्नुपर्छ र यहाँको विकासका काममा बढी ध्यान दिनु जरुरी छ ।” पहाडी क्षेत्रमा सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्यमा मानिसको पहुँच सहज गराउन सकियो भने बसाइँसराइ दर रोक्न सकिने उनको भनाई छ । यहाँका ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उचित शिक्षा, स्वास्थ्य उपलब्ध गराउन सकिए पहाडको बसाइँसराइको दर घटाउन सकिने सामुदायिक विकास मञ्च (सिडिएफ) डोटीका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले बताए । उनले भने, “नागरिकलाई उचित शिक्षा, स्वास्थ्य उपलब्ध गराउन सकिए बसाइँसराइ दर घट्नेछ, पहाडी क्षेत्रको विकास पनि हुने छ ।”

यस क्षेत्रको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, सडकजस्ता आधारभूत कुरामा नागरिकको सहज पहुँच बनाउन स्थानीय तहले विशेष ध्यान दिनु जरुरी भएको उनको भनाइ छ ।

संघ, प्रदेश र स्थानीय तहले गाउँको विकासमा बढी ध्यान दिएमा पहाडबाट हुने बसाइँसराइ रोक्न सकिने पूर्वअध्यक्ष सिंहले दाबी गरे । त्यस्तै पहाडी क्षेत्रमा आयआर्जन गर्न सकिने खालका कार्यक्रम अगाडि बढाउँदा यहाँको बसाइँसराइ रोक्न सकिने शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताए । उनले भने, “गाउँमा स्थानीय नागरिकलाई आयआर्जन गर्न सकिने खालका कार्यक्रम मात्रै लागू गर्ने हो भने यहाँको बसाइँसराइ अवश्य रोकिने छ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *