योग्य जनशक्तिले स्थान पाउनुपर्छः डीन शर्मा

डिसी नेपाल
२६ मंसिर २०७६ ७:०१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डीन प्रा. डा. डिल्लीराज शर्माले गुणस्तरीय शिक्षाका लागि हाम्रो नभई राम्रो जनशक्तिले स्थान पाउनुपर्ने बताएका छन् ।

जनप्रिय बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा उहाँले अन्तरराष्ट्रिय बजारमा पठाउन सक्ने किसिमको योग्य जनशक्ति तयार गर्ने गरी शैक्षिक संस्था लाग्नुपर्ने बताए ।

शैक्षिक उन्नयन र दक्ष जनशक्ति उत्पादनमा जनप्रिय बहुमुखी क्याम्पसले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले क्याम्पसमा एमबिए, हस्पिटालिटी म्यानेजमेण्ट कार्यक्रम स्वीकृत भएकोमा बधाई दिए ।

गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले गुणस्तरीय शिक्षा आजको अपरिहार्य आवश्यकता रहेको उल्लेख गर्दै छिमेकी मुलुक चीनसँग व्यापार र पर्यटन जोड्नुपर्ने भएकाले चिनियाँ भाषा ऐच्छिकरुपमा पढाउन आग्रह गरे ।

क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । क्याम्पसको शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फ विभिन्न खेलकूद, कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र सामूहिक नृत्य प्रतियोगिताका विजेतालाई प्रमाणपत्र, शिल्ड, मेडल र नगद प्रदान गर्नुका साथै क्याम्पसले सञ्चालन गरेको विभिन्न छात्रवृत्तिबाट उत्कृष्ट विद्यार्थीलाई सम्मानित गरिएको थियो।

प्रातः र दिवा सत्रमा पाँच हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका एक हजार ९६ सामूदायिक क्याम्पसमध्ये २०७२ र २०७३ मा शिक्षा मन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *