अपाङ्गता समाजका काँडा होइनन्: कानूनमन्त्री भण्डारी

डिसी नेपाल
२९ मंसिर २०७६ ९:१८

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अपाङ्गता भएका व्यक्तिको सुरक्षामा प्रदेश सरकारले प्राथमिता दिएको बताएका छन् ।

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँद्वारा सुर्खेतमा आयोजित तीनदिने ‘निःशुल्क ह्वीलचियर वितरण तथा प्रशिक्षक तालिम’ कार्यक्रमलाई सम्बोधन गर्दै अपाङ्गता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिकोमा परिवर्तनको आवश्यकता रहेकोमा जोड दिए ।

“अपाङ्गता भएका व्यक्तिमा पनि विलक्षण प्रतिभा हुन्छ”, उनले भने, “त्यसैले उनीहरु समाजका लागि काँडा होइन, फूलजस्तो देखिनुपर्छ।”

मन्त्री भण्डारीले मानव विकास सूचाकाङ्कमा पछाडि रहेको कर्णालीलाई माथि उठाउन आवश्यक रहेकोमा जोड दिँदै उनीहरुलाई उत्पादनशील बनाउनुपर्ने बताए ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले कर्णाली प्रदेशमा अपाङ्गतामैत्री भौतिक संरचना निर्माणका लागि नीतिगत क्षेत्रबाट पहल गर्ने बताए ।

ल्याटर–डे सेन्ट च्यारिटिजका नेपाल देशीय निर्देशक ब्लेन वेन्डेन्बर्घेले अपाङ्गता भएका व्यक्तिहरुको सेवाका लागि काम गर्दै आएको यस वर्ष नेपालमा एक हजार ४०० ह्वीलचियर वितरण गरिएको जानकारी दिए ।

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजका अध्यक्ष राकेश हमालले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा पहुँच बढाउने कार्यक्रम अघि सारिएको बताए ।

समाजका उपाध्यक्ष तथा ह्वीलचियर कार्यक्रका निर्देशक सुगम भट्टराईले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा रहेर नेपालका ६२ जिल्लामा १७ हजार ह्वीलचियर वितरण गरिएको बताए ।

उनका अनुसार यतिबेला हुम्ला, मुगु र डोल्पाबाहेक कर्णालीका सात र प्रदेश नं ५ का प्यूठान, दाङ, बाँके र बर्दिया जिल्ला गरी ६२ अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क ह्वीलचियर वितरण गरिएको छ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेशकुमार केसी, गैरसरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष घनश्याम केसीलगायतका वक्ताहरुले समाजको अत्यन्तै हेपिएको अपाङ्गता भएका वर्गका क्षेत्रमा सबै सरकार संविधानतः काम गर्न सुझाव दिए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *