पाल्पाको रम्भा मावि पहिलो बालमैत्री विद्यालय

डिसी नेपाल
३० मंसिर २०७६ ७:५३

बेझाड । रम्भा गाउँपालिका–५ को ताहुँमा रहेको रम्भा माध्यमिक विद्यालयलाई पाल्पाको पहिलो बालमैत्री विद्यालय घोषणा गरिएको छ।

गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बालमैत्री विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।

उनले भने, “गाउँपालिकालाई बालबालिकामैत्री बनाउन, विभिन्न क्रियाकलापमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न र उनीहरुको हकअधिकार प्रदान गर्न विद्यालय बालमैत्री अभियान चलाएको हो।”

सोही अवसरमा जनता प्रावि, चण्डेश्वरी प्रावि, प्राकृतिक आधारभूत विद्यालय, जनजागृति आधारभूत विद्यालयलाई पनि बालमैत्री विद्यालय घोषणा गरिएको थियो।

बालमैत्री स्थानीय शासन समन्वय समिति, गाउँपालिकाका पदाधिकारीसहितको टोलीले निरीक्षण तथा अनुगमनपश्चात् बालमैत्री विद्यालय घोषणा गरिएको थियो।

यसका लागि ५० वटा सूचकमा ८० अङ्क प्राप्त आवश्यकता पर्दछ।

बालमैत्री विद्यालय स्थापना भएपछि बालबालिकाको अर्थपूर्ण सहभागिता हुने र सहभागिताको लागि सहभागिता नभई वास्तविकरुपमै बालबालिकाको उपस्थिति हुने बालमैत्री स्थानीय शासन समन्वय एकाइका सम्पर्र्क व्यक्ति शिवप्रसाद अर्यालले जानकारी दिए ।

बालमैत्री घोषणाका लागि १६ विद्यालयले आवश्यक सूचक पूरा गरिसकेको र घोषणा गर्ने तयारीमा रहेको शिक्षा शाखा संयोजक काशीराम बस्यालले जानकारी दिए।

गाउँपालिकाले विद्यार्थी दुर्घटना बीमा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।

यस गाउँपालिकाभित्र ३६ वटा सामुदायिक, एक गुरुकुल, पाँच संस्थागत विद्यालय छन्।

गाउँपालिकाले सामुदायिक विद्यालयमा बालकक्षादेखि ५ सम्म पढ्ने विद्यार्थीलाई दैनिक प्रतिविद्यार्थी रु १५ दिवा खाजाका लागि सहयोग गरिरहेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *