माई नगरपालिकामा आजदेखि अनलाइनबाटै राजश्व सङ्कलन

डिसी नेपाल
१ पुष २०७६ ७:४३

इलाम । इलामको माई नगरपालिकामा आजदेखि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिँदैछ।

नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि पनि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिएको हो।

नगरपालिकाको काम छिटो तथा आधुनिक बनाउन पहल भइरहेका बेला यस प्रविधिले पनि सहयोग मिल्ने नगरपालिकाका प्रमुख दीपक थेवेले बताए ।

यसका लागि आवश्यक इन्टरनेट जडान भइसकेको, कम्प्युटर र दक्ष कर्मचारीसमेत नगरपालिकाले ठिक पारेको उनले बताए ।

यसका लागि नगरपालिकाका कर्मचारीलाई दुईदिने तालीम दिइएको, नगरपालिकाका केही कर्मचारी र प्रत्येक वडामा एक÷एक कर्मचारीलाई यससम्बन्धी तालीम दिएर काम गर्न सक्ने बनाइएको उनले बताए ।

सदरमुकामभन्दा टाढा रहेका स्थानीय तहहरुमा इन्टरनेटको समस्या पर्ने गर्दछ । तर यहाँ भने आवश्यक नेट जडानपछि खासै समस्या नहुने बताइएको छ।

यसअघि नै जिल्लाको इलाम, देउमाई र सूर्योदय नगरपालिकामा भने अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *