मेस्सी भर्सेज रोनाल्डोः पछिल्लो १० वर्षको समीक्षा, को केमा अगाडि ?

डिसी नेपाल
१३ पुष २०७६ १५:३३

काठमाडौं। २१ औं शताब्दीको दोस्रो दशक समाप्त हुँदैछ । यो दशक विश्व फुटबलमा दुई खेलाडीको दबदबा रह्यो । यो दशकको सुरुवातदेखि नै सुरु भएको यी दुईको प्रतिस्पर्धा दशकको अन्त्यसम्म पनि कायम नै रह्यो । अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो एउटै लिगमा खेले । स्पेनको ला लिगामा मेस्सी बार्सिलोना र रोनाल्डो रियल मड्रिडबाट खेले । यिनै दुई क्लवबाट यी दुई खेलाडीले फुटबल जगतमा धेरै इतिहास बनाए ।

पछिल्लो दशकको समीक्षा गर्दा मेस्सी क्लव फुटबलमा सबैभन्दा सफल भएर देखा परे । उनले क्लव फुटबलमा रोनाल्डोको तुलनामा ४५ गोल धेरै गरे । उनको नाममा फ्रिकिकबाटै ५३ गोल छन् । उनलाई फ्रिकिक मास्टर पनि भनिन्छ । अर्कोतर्फ रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा मेस्सीको तुलनामा २० गोल धेरै गरे । अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीभन्दा रोनाल्डो अगाडि देखिए । उनले पोर्चुगललाई युरो कप र नेशन्स कप दिलाए । मेस्सी भने विश्वकप र कोपा अमेरिकाको फाइनलमा पराजित भए । यी दुईको प्रतिस्पर्धाका क्रममा १० विशेष कुराहरु देखिए ।

१. हेड टु हेडः मेस्सीले यो दशक क्लवको लागि ५२२ गोल गरे । रोनाल्डोले ४७८ गोल गरे । मेस्सीले प्रत्येक वर्ष औसतमा ५२ गोल गरे । मेस्सीले प्रतिवर्ष औसत ४८ गोल गरे ।

२. म्याजिकल मेस्सीः मेस्सीले गत सिजन च्याम्पियन्स लिगमा लिभरपुविरुद्ध फ्रि किकमा सिधै गोल गरे । गोल पोस्टबाट उनको दूरी ३५ मिटर थियो ।

३. सुपरम्यान रोनाल्डोः रोनाल्डोले यही महिना सेम्पडोरियाविरुद्ध २.५६ मिटर जम्प गरेर हेड गोल गरे । २०१८ मा उनले युभेन्टरसविरुद्ध २.३८ मिटर जम्प गरेर बाइसाइकल गोल गरेका थिए । यससँगै उनलाई सुपरम्यान भन्न थालियो ।

४. बालोन डिओरमा मेस्सी अगाडिः रोनाल्डोले ५ बालोन डिओर अवार्ड जिते । मेस्सीले यसै वर्ष छैटौं बालोन डिओर जित्नै रोनाल्डोलाई उछिने । यो अवार्ड संसारका सर्वोत्कृष्ट फुटबलरलाई दिइन्छ ।

५. असिस्ट मास्टर मेस्सीः मेस्सीले यो दशक २०५ गोल असिस्ट गरे । असिस्टमा मेस्सी रोनाल्डोभन्दा धेरै अगाडि छन् । रोनाल्डोले १४० गोल असिस्ट गरेका छन् ।

६. मेस्सीका क्लव उपाधि धेरैः मेस्सीले यो दशक २३ क्लव ट्रफी जिते । यसमा उनले ७ ला लिगा र २ च्याम्पियन् लिग जितेका छन् । रोनाल्डोले ३ ला लिगा र ४ च्याम्पियन्स लिग जिते ।

७. अन्तर्राष्ट्रिय गोलमा रोनाल्डो अगाडिः रोनाल्डोले यो दशक ७७ अन्तर्राष्ट्रिय गोल गरे । उनी अन्तर्राष्ट्रिय गोलमा मेस्सीभन्दा २० गोल अगाडि छन् । मेस्सीले ५७ अन्तर्राष्ट्रिय गोल मात्र गर्न सके ।

८. रोनाल्डोले २ अन्तर्राष्ट्रिय प्रतियोगिता जितेः रोनाल्डोको नेतृत्वमा पोर्चुगलको टिम २ पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा च्याम्पियन बन्यो । २०१६ मा युरो कप र २०१९ मा नेशन्स लिग जिते । मेस्सी २०१४ विश्वकप, २०१५ कोपा अमेरिका र २०१६ कोपा अमेरिकाको फाइनलमा पराजित भए ।

९. जारी च्याम्पियन्स लिग सिजनमा रोनाल्डो अगाडिः २०१९–२० सिजनमा मेस्सीले १८ खेलमा १५ गोल गरेका छन् । रोनाल्डोले २१ खेलमा १२ गोल गरेका छन् । च्याम्पियन्स लिगमा भने रोनाल्डोले ६ र मेस्सीले ५ गोल गरेका छन् ।

१०. दशकको अन्त्यमा मेस्सीले जितेः मेस्सीले दशकको अन्त्य बार्सिलोनासँग जीतका साथ गरे । २०१९ को अन्तिम खेलमा बार्सिलोनाले एल्भसलाई ला लिगामा ४–१ गोल अन्तरले हरायो । रोनाल्डो भने अन्तिम खेलमा पराजित भए । उनको टिम युभेन्टस इटलियन सुपरकपको फाइनलमा लाजियोसँग ३–१ गोलले पराजित भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *