राष्ट्रिय टेनिसमा महिलातर्फको उपाधि प्रेरणालाई

डिसी नेपाल
१३ पुष २०७६ २२:३३

कास्की । पोखरामा जारी १७औँ संस्करणको ‘पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगितामा महिला एकल खुलातर्फको उपाधि प्रेरणा कोइरालाले जितेकी छन्। पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आईतबार भएकोे फाइनल खेलमा सलोनी तामाङलाई ७–५ र ६–१ को सोझो सेटले पराजित गर्दै उनले उपाधिसहित रु ५० हजार पुरस्कार प्राप्त गरेकी छन् ।

उपविजेता तामाङले रु २५ हजार तथा सेमिफाइनल पुगेका भगवती विक र गङ्गा विकले रु १०/१० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको भेट्रान्सतर्फ ३५ वर्षमाथि डबल्सको उपाधि राजु श्रेष्ठ (काठमाडाँै) र कमल भण्डारीको जोडीले जितेको छ । सिमान्त गुरुङ र राजु श्रेष्ठ (गोरखा) जोडीलाई ६–१, ४–६ र सुपरटाइमा १०–६ को जित निकाल्दै राजु जोडीले उपाधि जितेको हो ।

त्यसैगरी ४५ वर्ष माथिको डबल्समा गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडीले मनोज राणा र विमल गुरुङको जोडीमाथि ६–३ र ७–६ को नतिजामा पराजित गर्दै उपाधि जितेका छन् । संरक्षक भूषण बज्राचार्यले पुरुष व्यक्तिगत खुलातर्फको सेमिफाइनलको खेलमा नेपालका शीर्ष वरियताका प्रदीप खड्कालाई २–६, ७–६ र ६–१ सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।

प्रवण खनालले ६–० र ६–४ को सेटमा नवीन मगरलाई पराजित गरी प्रतियोगिताको फाइनलमा स्थान बनाए । पुरुष खुलातर्फको उपाधिका लागि सोमबार ब्रजाचार्य र खनालका बीचमा स्पर्धा हुनेछ । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस १० गतेबाट शुरु प्रतियोगिताको ३५ वर्षमाथिकोे स्पर्धामा कमल भण्डारीले श्रीमान् गुरुङलाई ७–६ र ६–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउनुभयो भने राजु श्रेष्ठले छवाङ लामालाई ५–७, ६–४ र सुपरटाइमा १०–८ ले पराजित गरी फाइनलमा प्रवेश गरे।

पैंतालीस वर्षमाथिको उमेर समूहको उपाधिका लागि चन्द्र शाही र विमल गुरुङबीच प्रतिस्पर्धा हुनेछ । शाहीले अनु जोनलाई ६–१ र ६–० को सेटमा पराजित गरेका थिए भने गुरुङले गोपीबहादुर भट्टराईलाई ६–३ को समान सेटमा पराजित गरे ।

पचपन्न वर्षमाथिको उमेर समूहमा कमल थापा फाइनलमा प्रवेश गरेका छन् । थापाले प्रदीप शाहलाई २–६, ६–४ र १०–८ ले पराजित गर्नुभयो भने अनिल तुलाचनले मनोज राणालाई ६–२, ४–६ र १३–११ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका छन् ।

पैंसठ्ठी वर्षमाथिको उमेर समूहको आजको सेमिफाइनलमा ज्ञानेन्द्र ताम्राकारले विष्णुकुमार गुरुङलाई ४–१ र ४–० को सेटमा पराजित गर्नुभयो भने दीपक श्रेष्ठले छेवान नोक्र्याललाई समान ४–० को सेटमा पराजित गरी फाइनलमा पुग्न सफल भएको जिल्ला टेनिस सङ्घका अध्यक्ष दोर्जे लामाले जानकारी दिए ।

पुरुष व्यक्तिगत/डबल्स, महिला व्यक्तिगत÷डबल्स तथा ३५ वर्ष, ४५ वर्ष, ५५ वर्ष र ६५ वर्षमाथि पुरुष व्यक्तिगत/डबल्स गरी १२ इभेण्टमा भएको स्पर्धामा १२४ खेलाडी उपाधिका लागि स्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको फाइनल खेल पुस १४ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *