ए डिभिजन लिगः जितसहित आर्मी शीर्ष स्थानमा, सरस्वती जितविहिन
काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
आर्मीको झिनो जितमा जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरे । खेलको ३० औं मिनेटमा दिनेश हेन्जनको पासमा जर्ज प्रिन्सले गोल गरेका थिए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्मीले ५ खेलमा १२ अंक जोडेको छ । र, साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई एक अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो।
दोस्रो स्थानमा रहेको मनाङको ५ खेलमा ११ अंक रहेको छ । सरस्वतीको यो लगातार पाँचौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले ५ खेलमा अंक जोड्न सकेको छैन ।
Facebook Comment