दिपेन्द्रको अलराउण्ड प्रदर्शनमा पुलिस सेमिफाइनलमा
काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इनरुवामा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश–२ लाई ४६ रनले पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको हो ।
इनरुवा रंगशालामा पुलिसले दिएको १ सय ८४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश(२ ले ४२ ओभर २ बलमा अलआउट हुँदै १ सय ३७ रन बनाउन सक्यो ।
प्रदेश–२ का लागि विशाल सुलिङले ८० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हरि शंकर साहले १८ तथा हसिम अन्सारीले १० रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । पुलिसका दिपेन्द्र सिंह ऐरी र ललित भण्डारीले ३/३ विकेट लिए । पवन सर्राफले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४८ ओभर १ बलमा अलआउट हुँदै १ सय ८३ रन बनाएको थियो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अमित श्रेष्ठले ३७ तथा अनिल साहले १९ रन बनाए । राशिद खान १६ रनमा आउट भए ।
प्रदेश-२ का कुमार थापाले ५ विकेट लिए । राहुल प्रताप सिंह र विवेक थापाले २/२ विकेट लिए ।
जितसँगै पुलिस समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । पुलिसले २ खेलमा २ जितसहित ४ अंक जोड्यो । पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई हराएको थियो । पुलिससँगको हारसँगै प्रदेश–२ भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रदेश–२ ले २ खेलमा २ अंक जोड्यो ।







डिसी नेपाल








Facebook Comment