जलिरहेको घरबाट किमको परिवारको फोटो छोडेर छोराछोरी बचाउने आमालाई जेल सजाय
काठमाडौं। उत्तर कोरियाकी एक आमाले जलिरहेको घरभित्रबाट आफ्ना दुई छोराछोरीलाई बचाइन् तर घरभित्र भित्तामा टाँसिएका उत्तर कोरियाली नेताहरुको फोटो बचाउन सकिनन् । फोटोहरु जलेपछि अहिले ती आमालाई जेल सजाय हुन सक्ने गरी मुद्दा चलाइएको छ । अहिले ती महिलामाथि देशको राज्य सुरक्षा मन्त्रालयले अनुसन्धान गरिरहेको छ ।
चीनको सीमा नजिकै उत्तरी ह्यामग्योंग प्रान्तको ओनसोंग काउन्टीमा दुई परिवारले बाँडेर बसोवास गरिरहेको घरमा एक्कासी आगो लागेको थियो । दुवै परिवारका अभिभावक आगलागीको समयमा घरबाहिर थिए । धुवाँ देखेपछि उनीहरु आफ्ना परिवारलाई बचाउन दौडिँदै आए । उनीहरुले छोराछोरीलाई बचाउने क्रममा उत्तर कोरियाली नेताहरुको फोटोको एक सेट भने जल्यो ।
उत्तर कोरियामा हरेक परिवारले उसका पूर्व नेताहरु किम इल सुंग र किम जोङ इलको फोटो अनिवार्य रुपमा घरमा राख्नुपर्ने नियम छ । सरकारले हरेक घरमा फोटो राखिएको जाँच गर्न जाँच अधिकारी नै पठाउने गर्छ । यहाँको नियम अनुसार किम परिवारमा फोटोहरुलाई हरेक नागरिकले आफूलाई जत्तिकै श्रद्धाका साथ राख्नुपर्छ । यदि यी तस्वीरको सुरक्षामा कुनै कमी भएमा त्यसलाई गम्भीर अपराध मानिन्छ ।
यदि यी आमा यो अपराधमा दोषी ठहरिएमा उनलाई कडा परिश्रमको साथमा लामो समयसम्म जेल सजाय हुन सक्छ । उत्तर कोरियाको मिडिया डेली एनकेको रिपोर्ट अनुसार अनुसन्धानको नतिजा स्वरुप ती आमाले अहिले न त आफ्ना छोराछोरीलाई अस्पतालमा राख्न पाउँछिन् न त उनीहरुको जलेको घाउको लागि एन्टिबायोटिक्स औषधी प्राप्त गर्न सक्छिन् । छिमेकीहरु सहयोगका लागि अगाडि आउन खोजेका थिए तर उनलाई राजनैतिक अपराधको अभियोग लगाइन सक्ने डरले उनीहरु पनि पछि हटे ।
ती आमामाथि भइरहेको अनुसन्धान पूरा भएपछि मात्र उनले आफ्ना छोराछोरीको हेरविचार गर्न पाउनेछिन् । किम परिवारका फोटोलाई बाढी वा आगोमा बचाउने उत्तरु कोरियालीहरुलाई हिरोको रुपमा हेरिन्छ । यदि फोटो बचाउने प्रयासमा उनीहरु मरेमा उनीहरुलाई झनै सम्मानित दृष्टिले हेरिन्छ । २००५ मा उत्तर कोरिया छाडेर भागेकी जुन यू सुंगले २०१५ मा एक अन्तरवार्तामा यस्तै घटनाको स्मरण गरेकी थिइन् ।
‘जब एउटा घर आगोले जलेर नष्ट भएको थियो, केही बालबालिकाहरु ती फोटो समाएर जलेर मरेको अवस्थामा भेटिएका थिए’ उनले भनिन् ‘यस्ता दुर्घटनालाई उत्तर कोरियाली प्रोपोगाण्डाको रुपमा प्रयोग गरिन्छ । २०१२ मा दक्षिणी हामक्योंगको सिनहुंग काउन्टीमा आफ्नो घरमा राखिएको किमको फोटो बचाउने प्रयासमा १४ वर्षकी हान ह्योंग ग्योंग डुबेर मरिन् । उनलाई मरणोपरान्त किम जोंग इल युवा वीरता पुरस्कारले सम्मानित गरियो र उनको स्मृतिमा उनको स्कुलको नाम फेरियो ।
प्योंगयांग घुम्न गएका एक अमेरिकी विद्यार्थी ओट्टो वार्मबियरलाई कठोर श्रमसहित १५ वर्षको जेल सजाय सुनाइएको थियो । उनको अपराध यत्ति थियो कि उनले किम इल सुंगको नाम लेखिएको पोस्टर तानेका थिए । घरमा किम परिवारको फोटो झेण्ड्याउन पनि खास नियम छ । ती फोटोहरु घरको मुख्य भित्तामा हुनुपर्छ र यति उचाइमा हुनुपर्छ कि कोही पनि फोटोभन्दा अग्लो उभिन नसकोस् । ती फोटोहरुलाई सफा राखिनुपर्छ । फोटोमा धुलो जम्नु हुँदैन । धुलो जमेमा जरिवाना तिर्नुपर्छ । कति जरिवाना तिर्ने भन्ने धुलोको परिमाणको आधारमा तय हुन्छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment