बिग बाश लिगः १० औं जीतसँगै मेलबर्न स्टार्सको विशाल अग्रता, सन्दिपको नाममा १ विकेट

डिसी नेपाल
४ माघ २०७६ १३:५९

काठमाडौं। अस्ट्रेलियाको टि–२० लिग बिग बाश लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध मेलबर्न स्टार्सले विशाल अग्रता बनाएको छ । कूल ११ खेल खेलेको मेलबर्न स्टार्सले आज १० औं खेलमा जीत हात पार्दै अंक तालिकामा विशाल अग्रता बनाएको छ । मेलबर्न स्टार्सको २० अंक भएको छ ।

अंक तालिकामा दोस्रो स्थानमा रहेको सिड्नी सिक्सर्स स्टार्सभन्दा ७ अंकले पछि छ । १० खेल खेलेको सिक्सर्सले ६ जीत र एक नतिजाविहीन भइ अंक बाँडेको खेलको अंकसहित १३ अंक जोडेको छ । उसले आजै सिड्नी थन्डर्ससँग खेल्दैछ ।

आजको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । १४२ रनको लक्ष्य पच्छ्याएको पर्थ सोर्सर्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सकेपछि मेलबर्न १० रनले विजयी भएको हो ।

आजको खेलमा मेलबर्नका लागि हिल्टन कार्टराइटले नटआउट ५८, ग्लेन म्याक्सवेलले २५ र निक लार्किनले २४ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर गर्न सकेनन् । पर्थका लागि म्याथ्यु केलीले ३ विकेट तथा झि रिचर्डसन र फवाद अहमदले १–१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको पर्थका लागि क्यामरुन बेनक्राफ्टले सर्वाधिक ३२ रन बनाए । जोस इङलिसले १२, लियाम लिभिङस्टोनले १८, मिचेल मार्शले ११, कर्टिस पिटरसनले २०, टिम डेभिडले ११ रन बनाए । मेलबर्नका लागि निक म्याडिन्सनले ३ विकेट लिए भने ड्यानियल वोरेल, सन्दिप लामिछाने, क्लिन्ट हिंक्लिफ र ग्लेन म्याक्सवेलले १–१ विकेट दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *