सर्वजातीय कुलदेवताधामको निर्माण हुने

डिसी नेपाल
११ माघ २०७६ १७:४१

जनकपुरधाम । धार्मिक सहिष्णुता, सद्भाव एवम् एकता कायम गर्ने उद्देश्यले सर्वजातीय कुलदेवताधामको निर्माण हुने भएको छ । ‘भोर’ नामक गैरसरकारी संस्थाद्वारा परिकल्पना गरिएको सो धामको निर्माणको विस्तृत परियोजना निर्माणबारे गृहकार्यसमेत प्रारम्भ भइसकेको छ ।

संस्थाद्वारा शनिबार जनकपुरधाममा आयोजित परियोजनासम्बन्धी छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो । मिथिलामा प्रत्येक कुलमा कुलदेवताको स्थान रहेको छ । यस स्थानमा कुलदेवताका रूपमा विभिन्न शास्त्रीय देवीदेवता, लोकदेवता, पूर्वज, पराक्रमी व्यक्ति, स्थानीय देवीदेवताका साथै प्रकृति, वनस्पति, पक्षी, जनावर आदिको समेत पूजा गरिएको पाइन्छ ।

परिवारको सुख, समृद्धि तथा वंशको अभिवृद्धिका लागि आफ्नो कुलघरमा देवीदेवता स्थापित गरी पूजन गरिने कार्य मिथिलामा गरिएको पाइन्छ । यस क्षेत्रमा कुलदेवतालाई घरगोसाई, गोसाई, गोसाउनी आदि नामले पुकारिन्छ ।

कुलदेवताको प्रसन्नताले सुख, समृद्धि प्राप्त हुन्छ भन्ने मान्यताअनुसार यस क्षेत्रका निवासीहरू देव पितृप्रति श्रद्धा र भक्तिभाव राख्ने गरेको पाइन्छ । पितृलाई देवता सरह मानेर पूजा गर्ने परम्परा प्राचीनकालदेखि नै चलिआएको बुझिन्छ ।

मानिसको वर्तमानको अस्तित्वमा भूतकालीन पितृवर्गको देन रहेको हुन्छ । यसै भावनाले प्रेरित भएर पितृवर्गप्रति श्रद्धा गर्ने गरिएको पाइन्छ । लोक र समाजलाई कल्याण गर्ने व्यक्तिलाई देवताका रूप मानेर पूजा गर्ने परिपाटीले पनि यस क्षेत्रमा योगदान दिएको बुझिन्छ । कुलदेवताको पूजाको प्रचलन र परम्परालाई वंशानुगत रूपमा एक पिँढीले आउने पिँढीलाई दृष्टान्तद्वारा हस्तान्तरण गर्दै आएको देखिन्छ । मिथिलामा कुलदेवता वा घरगोसाईलाई सबैभन्दा ठूलो एवम् प्रभावशाली ठानिन्छ ।

घरगोसाई अप्रसन्न भएमा परिवारमा दुःख, दरिद्रता एवम् वंशको विनाशसम्म हुनसक्ने लोकविश्वास रहेको पाइन्छ । परिवारमा कसैलाई कुनै प्रकारको आपत्ति वा विपत्ति आइपर्दा त्यसको निवारणार्थ कुलदेवतालाई पातरी चढाउने भाकल गर्ने गरिन्छ । परिवारमा कुनै पनि उत्सव, समारोह, ससंस्कार इत्यादि हुँदाको बखत सर्वप्रथम निमन्त्रण कुलदेवतालाई दिने चलन रहेको छ । मिथिलामा प्रत्येक शुभ अवसरमा गाइने गीतमध्ये सर्वप्रथम कुलदेवताकै गीत गाइने प्रचलन रहेको छ ।

कुलदेवताको धारणा र यसका पूजाविधानले आजको समाज र सभ्यतालाई प्रागैतिहासिक कालखण्डको अतीतको अवस्थासित जोड्न पुगेको थाहा हुन्छ । यही परम्परालाई जीवन्त राख्न एक स्थानमा सबै जातिको कुलदेवता राख्ने परिकल्यना गरिएको बताइएको छ ।

सर्लाही जिल्लाको नरिवन तालको सेरोफेरोमा पाँच बिघा जग्गामा सर्वजातीय कुलदेवताको प्रतिमा निर्माण, संरक्षण र प्रवद्र्धनको अवधारणा रहेको छ । संस्थाका अध्यक्ष राजकुमार महतोले यस अवधारणालाई छ महिनाभित्र मूर्तरूप दिई विस्तृत परियोजनाको कार्य सम्पन्न गरी निर्माणको अभियानमा लागिपर्ने बए । कुलदेवताधाममा करिब एक सय वटा कुलदेवताको प्रतिमा निर्माण गरी संरक्षण, प्रवद्र्धन, पर्यटकीय विकास, जातीय सद्भाव, धार्मिक सहिष्णुता कायम राख्ने सोच रहेको उनले जानकारी दिए।

संस्कृतिविद् रामभरोस कापडी भ्रमरले कुलदेवताका बारेमा विशद्, व्यापक रूपले अध्ययन र अन्वेषण गर्नु आवश्यक छ भन्दै एक स्थलमा सर्वजातीय कुलदेवताको निर्माण संसारकै लागि दृष्टान्त हुने धारणा राखे ।

कलाकार माया मौडेलले कुलदेवताधामको निर्माणले मिथिला क्षेत्र आफ्नो अतीतको परम्पराप्रति गर्व गर्न सकोस् र भावी पिँढीका लागि अनुकरणीय बन्ने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.