भ्यालेन्सियासँग बार्सिलोना पराजित

डिसी नेपाल
११ माघ २०७६ २२:५०

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको छ । शनिबार घरेलु मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियाले लिगको साविक विजेता बार्सिलोनालाई २–० ले पराजित गरेको हो । यो सँगै भ्यालेन्सियाले १३ वर्षपछि आफ्नो घरेलु मैदानमा बार्सिलोनालाई पराजित गरेको छ।

खेलको नवौं मिनेटमा नै भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । जेरार्ड पिकेले पेनाल्टी क्षेत्रभित्र जोसे गायालाई लडाएपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाउँदै पेनाल्टी दिएका थिए । तर म्याक्सी गोमेजको प्रहारलाई टेर स्टेगनले विफल पारे ।

४७ औं मिनेटमा भ्यालेन्सियाले जोर्डी अल्बाको आत्मघाती गोलमा अग्रता लियो । पहिलो हाफमा पेनाल्टी चुकाएका लोपेजले गरेको शक्तिशाली प्रहार अल्बालाई लाग्दै पोस्टभित्र छिरेको थियो ।

बार्सिलोनाले लगातर आक्रमणको अवसर पाएपनि मेस्सीले सदुपयोग गर्न सकेनन् । ७६ औं मिनेटमा भने घरेलु टोली भ्यालेन्सियाले अग्रता दोब्बर पार्यो । फेरान टोरेसको पासमा गोमेजले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै भ्यालेन्सियालाई जिततर्फ उन्मुख गराए ।

यस हारसँगै बार्सिलोनाले २१ खेलमा ४३ अंक जोडेको छ । दोस्रो स्थानको रियल म्याड्रिडले एक खेल कम खेल्दै समान अंक जोडेको छ । गोलअन्तर समान भएपनि धेरै गोल गरेको आधारमा बार्सिलोना शीर्षस्थानमा रहेको हो । भ्यालेन्सिया भने २१ खेलमा ३४ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *