एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
हेटौँडा। बिमारी बोक्न प्रयोग गरिने सरकारी एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट डुमरियाका ३९ वर्षीय महमद खलिद, सोही ठाउँका १९ वर्षीय अशोक कुमार र भारत बिहारका २२ वर्षीय विनोद सहनी रहेका छन्। खालिद एम्बुलेन्सका चालक हुन्। पक्राउ परेका तीनैजनालाई आज पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो।
गाँजा तस्करी गर्न प्रयोग भएको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुलाई एम्बुलेन्समा गाँजा लैजाँदै गरेको भन्ने सूचनाका आधारमा शनिबार साँझ पक्राउ गरेको जनाएको छ।
मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको एम्बुलेन्समा गाँजा राखेर लगिरहेको भन्ने सूचनाका आधारमा डुमरिया स्वास्थ्य चौकीको उक्त एम्बुलेन्सलाई प्रहरीले हेटौँडाको नेवारपानीमा रोकी जाँच गर्दा तीन झोलामा छ पोका बनाई लुकाई राखेको साढे ३० किलोग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरुका साथबाट नेपाली रु ९१ हजार र दुई हजार भारतीय रुपैँयासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment