राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो

डिसी नेपाल
१७ माघ २०७६ १४:५५

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विपक्षी डेमोक्र्याट पार्टीले अघि बढाएको महाभियोग प्रस्तावलाई अमेरिकी माथिल्लो सदन (सिनेट)ले चाँडो टुङ्ग्याउने बिहीबारको सुनुवाईले देखाएको छ।

सिनेटमा बहुमत रहेको रिपब्लीकन पार्टीले ट्रम्पलाई समर्थन गरेका कारण उनी निर्दोष हुने सम्भावना पनि बढाएको हो। महाभियोगको सुनुवाईमा नयाँ साक्षीहरू झिकाउने डेमोक्र्याट पार्टीको आग्रहलाई सिनेटले अस्वीकार गरेका कारण महाभियोगको सुनुवाई चाँडै सकिन लागेको हो।

डेमोक्र्याटले ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई साक्षीका रुपमा सिनेटमा आमन्त्रण गर्न खोजेका थिए तर रिपब्लिकन पार्टीआबद्ध सिनेटरहरुले महाभियोग राजनीतिक पूर्वाग्रहबाट आएकाले अब “थप साक्षीहरु आवश्यक छैन” भन्दै प्रतिबाद गरेका थिए। यद्यपी थप साक्षीहरु झिकाउने हो वा होइन भन्ने बारेमा शुक्रबार सिनेटमा मतदान हुनेछ।

यदि शुक्रबार ट्रम्पका प्रमुख सहयोगी बोल्टनलाई साक्षीका रुपमा सुनुवाईमा बोलाउने प्रस्ताव खारेज गरियो भने सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलले महाभियोगको आरोपका सम्बन्धमा जतिसक्दो चाँडो सिनेटमा मतदान गर्न सक्ने अनुमान गरिएको छ।

अमेरिकी संविधान अनुसार राष्ट्रपतिलाई पदबाट हटाउन दुई तिहाई बहुमत (वा ६७ जना सिनेटरहरू) आवश्यक छ, तर सिनेटमा हाल ५३–४७ ले रिपब्लिकन बहुमतमा रहेको छ। रिपब्लिकन पार्टीका सिनेटरहरुले ट्रम्पलाई समर्थन गरिरहेकाले उहाँलाई निर्दोष ठहराउने निश्चित छ।

बोल्टनको प्रकाशोन्मुख पुस्तकमा आफूलाई व्यक्तिगत रूपमा ट्रम्पले युक्रेनलाई सैनिक सहायता दिन मञ्जुर गरेको लेखेको बताइएको छ जसको बदलामा डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडेनका छोराको युक्रेनमा भइरहेको आर्थिक कारोबारको अनुसन्धानमा गर्न युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको शंका छ। यही कारण बोल्टनका कुरा सुन्न डेमोक्र्याटहरू मुख्य रुपमा विशेष उत्सुक थिए।

अमेरिकी राष्ट्रपतिले शक्तिको दुरुपयोग र डेमोक्र्याटिक पार्टीको बहुमत रहेको प्रतिनिधिसभाका कारबाहीलाई निरन्तर अवरोध र अवमूल्यन गरेको डेमोक्र्याट पार्टीको अभियोग छ।

डेमोक्र्याटिक पार्टी सिनेटमा अल्पमतमा रहेकाले नयाँ साक्षी झिकाउन उनीहरुलाई थप चार रिपब्लिकन मत चाहिन्छ। तर धरमर ठानिएका टेनेसी राज्यका रिपब्लिकन सिनेटर लामार अलेक्ज्याण्डरले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै अरु धेरै प्रमाणको आवश्यकता नरहेको बताएका छन्।

“राष्ट्रपतिले विदेशी नेतालाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छानबिन गर्न र उक्त अनुसन्धानलाई प्रोत्साहित गर्न अमेरिकी सहयोग रोक्न आग्रह गर्नु अनुपयुक्त थियो,” अलेक्ज्याण्डरले भने।

“तर संविधानले सिनेटलाई यतिकै आधारमा राष्ट्रपतिलाई पदबाट हटाउने र आगामी राष्ट्रपति चुनावमा उठ्न नपाउने गरी प्रतिबन्ध लगाउने सक्दैन ।”

मेन राज्यका अर्का रिपब्लिकन सिनेटर सुसन कोलिन्सले थप साक्षी झिकाउन कुरालाई समर्थन गर्ने बताए तर युटाहाका सिनेटर मिट रोम्नीले आफू पनि बोल्टनका कुरा सुन्न तत्पर रहेको बताएका छन्।

अर्का अस्थिर रिपब्लिकन सदस्य – अलास्काकी लिसा मुरकोव्स्कीले शुक्रबार बिहान आफ्नो निर्णय घोषणा गर्ने बताएका छन्।

सिनेटमा बराबरी अर्थात् ५०–५० रहेको अवस्थामा सुनुवाईको अध्यक्षता गरिरहनु भएका अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले के गर्नु हुन्छ भन्ने पक्ष महत्वपूर्ण हुनेछ। यदि उनले साक्षी झिकाउने प्रस्ताव अस्वीकार गरेमा थप साक्षी बोलाउने प्रस्ताव असफल हुनेछ।

पूर्णतया पक्षपाती महाभियोग

मुख्य डेमोक्र्याटिक अभियोजक एवं प्रतिनिधिसभाका सांसद एडम सिफले बिहीबार रिपब्लिकन सिनेटरहरु समक्ष नयाँ साक्षी झिकाउने बारेमा एक हप्ताको म्यादका लागि अनुरोध गरेका थिए।

क्यालिफोर्नियाका सभासद् सिफले यस ऐतिहासिक परीक्षणमा न्यायाधीशको रूपमा बसिरहेका १०० सिनेटहरुलाई भने, “अब हामी एक हप्ताको समय मात्र लिन चाहन्छौं।”

सुनुवाईमा उपस्थित राष्ट्रपति ट्रम्पको प्रतिरक्षा टोलीले थप साक्षीहरूका लागि गरिएको अनुरोधलाई अस्वीकार गरेको थियो।

“ट्रम्प विरुद्धको प्रस्ताव नै पूर्वाग्रही थियो,” व्हाइट हाउसका उपसल्लाहकार प्याट्रिक फिलबिनले भने, “ट्रम्प विरुद्धको पहिलो प्रस्ताव नै असफल भइसके पछि थप साक्षीहरु किन चाहियो ?”

ह्वाइट हाउसका सल्लाहकार प्याट सिपोलोनले ट्रम्प विरुद्धको अभियोगहरु स्वतः निस्क्रिय भइसकेको र यो मुलुकका लागि राम्रो हो भने।

उनले मतदाता (सिनेटले होइन)ले आगामी नोभेम्बरको राष्ट्रपति चुनावमा ट्रम्पको भाग्यको फैसला गर्नेछन् भने।

ट्रम्पको प्रतिरक्षा टोलीले महाभियोग राजनैतिक हिसाबले ल्याइएको दाबी गरेका छन् । राष्ट्रपतिसँग कुनै व्यक्ति विशेषका सम्बन्धमा छानबिन र अनुसन्धान गर्न पाउने कानुनी अधिकार रहेको उनीहरुको भनाई छ।

राष्ट्रपतिले युक्रेन मामिलामा बारम्बार गलत कार्यलाई अस्वीकार गरेका छन्। उनले महाभियोगको समग्र प्रक्रियालाई राजनैतिक हिसाबले सञ्चालित र निर्वाचित राष्ट्रपतिलाई “अपमान” गर्न उद्यत रहेको बताएका छन्। आयोवाको डेस मोइन्समा बिहीबार एउटा चुनावी सभामा बोल्दै ट्रम्पले भने, “हामी हाम्रो देशको इतिहासमा सबभन्दा राम्रो काम गरिरहेका छौं तर मेरै विरुद्धमा महाभियोग लगाइन्छ।”

नोभेम्बरको राष्ट्रपति चुनावमा ट्रम्पको सामना गर्न डेमोक्र्याट पार्टीले सोमबार आयोवामा पार्टीका उम्मेदवार छनौट गर्न पहिलो मतदान गर्दैछन्। (रासस-एएफपी)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *