गाउँपालिकालाई एम्बुलेन्स र स्वास्थ्यचौकी भवन हस्तान्तरण

डिसी नेपाल
१९ माघ २०७६ १६:३६

ललितपुर । नेपाल रेडक्रस सोसाइटीले ललितपुरको महाँकाल गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी सोसाईटीका अध्यक्ष सञ्जीव थापाले गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष दाहालले खुशी व्यक्त गर्दै भने, ‘दुर्गम यस क्षेत्रमा एम्बुलेन्सको अति खाँचो छ, चालकको भर्ना गर्न पदपूर्ति सूचना निकालिसकिएको छ र छिटै यो सेवा सुचारु हुनेछ ।’

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले रेडक्रसको उपशाखाले नै एम्बुलेन्स सञ्चालन गर्ने प्रचलन भएपनि सेवा नीति अनुसार आवश्यक स्रोत साधन र कर्मचारी व्यवस्था सरल हुने र दीगोपना आऊने अपेक्षा गरी गाउपालिकालाई नै उपलव्ध गराइएको बताए ।

आजै नेपाल रेडक्रस सोसाइटीले महाँकाल गाविसको वडा नं ५ को नमन डाँडाको चन्दनपुर स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरेको छ । गत वर्ष पौषमा शिलन्यास भएको कर्मचारी आवास सहितको दुइतले नवनिर्मित भवनको संघीय सभाका माननीय सांसद नवराज सिलबालले उद्घाटन गरेका हुन् । रेडक्रसले सो निर्माणका अलावा थप २ वटा स्वास्थ्य चौकीलाई उपकरणहरु पनि उपलव्ध गराएको छ ।

ललितपुर रेडक्रसका सभापति बाबुराजा महर्जनको सभापतित्वमा सञ्चालित हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला लामा तामाङ, वडा अध्यक्षहरु, नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, निर्देशक दिव्यराज पौडेल, बुद्धि सागर श्रेष्ठ, वेलायती रेडक्रसका प्रतिनिधि सोनाक्षी देव लगायत स्थानीयको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *