जापानमा ३७०० यात्रुसहित रोकिएको जहाजका १० जनामा कोरोनाभाइरस देखियो
काठमाडौं। जापानको योकोहामा बन्दरगाहमा रोकेर राखिएको यात्रुवाहक पानीजहाजमा १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यो सँगै जापानमा कोरोना संक्रिमतको संख्या ३३ पुगेको छ । ‘डायमण्ड प्रिन्सेस’ नामको क्रुजशिपमा यात्रा गरेर हङकङमा उत्रिएका एक वृद्धमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि सबै यात्रुसहित जहाजलाई क्वारेन्टाइनमा राखिएको थियो ।
सुरुवातमा ती संक्रमित यात्रुको सम्पर्कमा आएका यात्रुहरु र क्रु सदस्यहरु गरी २७३ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा तीमध्ये १० जनामा संक्रमण देखिएको जापानका स्वास्थ्य श्रम तथा समाजकल्याणमन्त्री कात्सुनोबु कोतोलाई उद्धृत गर्दै जापान टाइम्सले लेखेको छ । संक्रमण देखिएका सबै यात्रुहरु ५० देखि ८० वर्ष उमेरभित्रका छन् । अन्यमा समेत संक्रमण भएको हुन सक्ने आशंकामा जापान सरकारले ५६ देशका सबै यात्रुहरुलाई अझै २ हप्ता जहाजमै राखेर परीक्षण गर्ने कोतोले बताएका छन् ।
जहाजलाई योकोहामा बन्दरगाहमा रोकिएको छ र यात्रुलाई उत्रन दिइएको छैन । सबैलाई जहाजभित्रै क्वारेन्टाइनमा राखेर परीक्षण भइरहेको छ । जापान सरकारका प्रवक्ता योशिहिदे सुगाका अनुसार हङकङमा २५ जनवरीमा उत्रिएका ८० वर्षमा ती यात्रुमा संक्रमण पुष्टि भएपछि जहाजलाई बन्दरगाहमै रोकेर परीक्षण थालिएको हो । डायमण्ड प्रिन्सेज नामको क्रुज जहाज मंगलबार बेलुका मात्र जापान आउने निर्धारित तालिका थियो तर हङकङमा यात्रुमा संक्रमण पुष्टि भएपछि जहाजलाई एक दिन अगावै योकोहामा बोलाइएको हो ।







डिसी नेपाल








Facebook Comment