जन्तीबोकेको ट्याक्टर दुर्घटना तीनको मृत्यु चार घाइते

डिसी नेपाल
२३ माघ २०७६ २२:००

गलकोट । बागलुङ जिल्लाको तमाखोला गाउँपालिकामा बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिकाको बोङ्गादोभानमा बिहेको जन्ती लिएर आएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । म्याग्दी मालिका गाउँपालिका–२ का वर्ष ४८ का मनप्रसाद पुन, वर्ष २९ को चालक रमेश घर्ती, वर्ष ४२ का खगेन्द्र पुन र वर्ष ४३ कि गौमाया पुनको अवस्था गम्भीर रहेको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ ।

ट्याक्टरमा २०/२५ जना सवार रहेको अनुमान गरिएको र अहिले घटनास्थलमा खोजी र उद्धार कार्य जारी रहेको प्रहरी प्रमुख भट्टले बताए । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.