सिड्नीमा परराष्ट्रमन्त्री खनालसँग न्यू साउथ वेल्सका प्रिमियर मिन्सको भेट

डिसी नेपाल
२२ असोज २०८३ २२:०१

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग अष्ट्रेलियाको न्यू साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा भेटवार्ता गरेका छन्।

आज भएको भेटका क्रममा प्रिमियर मिन्सले नेपालमा हालै गएको विनाशकारी बाढी तथा विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि न्यू साउथ वेल्स सरकार नेपाललाई सहयोग गर्न तयार रहेको मन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले विपद्का कारण प्रभावित नेपालीप्रति देखाएको सहानुभूति, ऐक्यबद्धता र सहयोगका लागि न्यू साउथ वेल्सका जनता, नेपाली डायस्पोरा तथा त्यहाँका विभिन्न समुदायप्रति आभार व्यक्त गरेका थिए।

मन्त्री खनालले विपद्पछि सम्पर्कविहीन भएका अष्ट्रेलियाली नागरिकहरूको खोजी तथा उद्धारलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी प्रिमियर मिन्सलाई गराए।

भेटवार्तामा नेपाल र न्यू साउथ वेल्सबीच व्यापार, ऊर्जा, खानी, पूर्वाधार तथा प्राविधिक एवं व्यावसायिक शिक्षा तथा तालिम (टिभिइटी) लगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो।

त्यसैगरी, नेपाल र न्यू साउथ वेल्सका उच्च शिक्षण संस्थाबीच सहकार्य तथा शैक्षिक आदानप्रदानलाई थप विस्तार गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *