कांग्रेस महाधिवेशन : समावेशिता, युवा नेतृत्व र निर्वाचन व्यवस्थापनमा उम्मेदवारहरूको जोड

मनिषा बस्नेत
२२ असोज २०८३ २०:१३

काठमाडौं। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा विभिन्न क्लस्टर तथा समूहबाट केन्द्रीय सदस्यका उम्मेदवारहरूले पार्टीलाई थप समावेशी, युवामैत्री र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्।

अपाङ्गता क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदकी उम्मेदवार निर्मला श्रेष्ठले कांग्रेसले समावेशिताको अभ्यास अघि बढाए पनि अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व पर्याप्त हुन नसकेको बताइन्। उनले अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएको कोटामा पनि प्रतिनिधित्व बढाउनुपर्ने आवश्यकता रहेको बताइन्।

उनले भनिन्, ‘कांग्रेसले प्रजातान्त्रिक अभ्यास सुरु गरेको छ। अशक्त व्यक्तिहरूको पनि यो कांग्रेसमा समावेश हुनुपर्छ भनेर देखाएको छ। आवाजविहीन व्यक्तिहरूको आवाजका लागि कोटा खडा गर्‍यो, तर वास्तवमा अपाङ्ग कोटा यसपटक अपहेलितमा परेको छ। २९५ भनेर सङ्ख्या बढाउँदै गर्दा अपाङ्ग कोटामा एक जना, जम्मा नेपालभर एक जना अपाङ्ग—न महिला, न पुरुष भनेर त्यहाँ अलिकति आवाज नसुनिएको हो कि अथवा त्यो आवाजलाई हामीले उच्च बनाउन सकेनौँ कि भन्ने लागेको छ। समग्रमा समावेश गरिसकेको छ, सबै पाउन सकिँदैन। तर जुन गरिएको छ, त्यसमा चाहिँ अलिकति कम छ।’

श्रेष्ठले महाधिवेशनको तयारीका क्रममा आन्तरिक समस्याका कारण आफूहरू समयमै महाधिवेशनस्थलमा प्रवेश गर्न नसकेको र त्यसले अपाङ्गता भएका व्यक्तिका एजेन्डा उठाउन समस्या भएको पनि बताइन्।

उनले भनिन्, ‘दुःखका साथ भन्नुपर्छ, हामी बन्दसत्र भित्र जान पाएनौँ। आन्तरिक जुन किचलोहरू थिए, त्यसले गर्दा नाम दर्ता गर्ने क्रममा हामी आधिकारिक व्यक्ति भएर भित्र छिर्न पाउनुपर्थ्यो, तर फाइलहरू पाउन नसक्दा रजिस्ट्रेसन नपाउँदा हामी भित्र छिर्न पाएनौँ। त्यसैले हाम्रो आवाजहरू सुन्न र त्यहाँ सुनाउन पाइएन। अबका दिनमा त्यस्ता गल्ती हुनुहुँदैन।’

उनका अनुसार निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्दा अपाङ्गता भएका व्यक्तिका मुद्दा र प्रस्तावमाथि पर्याप्त छलफल हुन सकेन। ‘निर्वाचनको एउटा रन्को यतापट्टि छँदैछ, उता हामी भित्र छिर्न नपाएपछि त्यताभन्दा हामी यतापट्टि नै अल्मलियौँ। हामी त्यहाँ पनि अलिकति पिछडिनुपर्‍यो,’ उनले भनिन्।

प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यका उम्मेदवार नरेन्द्रकुमार केरुङले नयाँ केन्द्रीय समितिले मुलुकमा बढेको निराशा र नकारात्मकतालाई चिर्ने संकल्पसहित काम गर्नुपर्ने बताए।

उनले भने, ‘म आफू पनि केन्द्रीय सदस्यको उम्मेदवार हुँ। भोलिबाट निर्वाचित हुने टिमले यो मुलुकका समसामयिक समस्याहरू, निराशाका समस्या र जनतामा रहेको नेगेटिभिटीको समस्यालाई समाधान गर्ने एउटा सङ्कल्प बोकेर गाउँ जाँदैछौँ। मुलुकले भोलिको केन्द्रीय समितिबाट केही न केही नयाँ किसिमको अनुभूति प्राप्त गर्दछ।’

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई निर्वाचनको समय लम्बिँदा परेको असुविधाप्रति उनले क्षमासमेत मागे। विशेषगरी प्रवास तथा टाढाबाट आएका प्रतिनिधिहरूले फर्किने टिकट पहिले नै लिएको भन्दै उनले निर्वाचन सकेसम्म बिहानै सम्पन्न गर्ने प्रयास भइरहेको बताए।

उनले भने, ‘टाढा–टाढाबाट आउनुभएका र प्रवासबाट आउनुभएका प्रतिनिधिज्यूहरूले आउँदाखेरि नै रिटर्न टिकट गरिसक्नुभएको हुन्छ। त्यस सन्दर्भमा केही अप्ठ्यारो महसुस भयो। भोलि बिहान ७ बजेदेखि निर्वाचन सम्पन्न गरेर फर्किन चाहनुहुने प्रतिनिधिहरूलाई सहज वातावरण बनाउन हामी लबिङ गरिरहेका छौँ।’

एक दिन निर्वाचन प्रक्रिया होल्ड भएकोप्रति क्षमा माग्दै उनले महाधिवेशन ऐतिहासिक हुने दाबी गरे।

‘आयोजकको नाताले उहाँहरूसँग सरी भन्नुपर्दछ, क्षमा चाहन्छौँ हामी। तर मुलुकलाई परिवर्तन गर्ने एउटा हुटहुटी लिएर, एउटा सुनामी लिएर नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न हुन लागेको छ। यो एकदमै ऐतिहासिक छ,’ उनले भने।

यसैगरी, ३५ वर्षमुनिका युवा क्लस्टरबाट केन्द्रीय सदस्य पदका उम्मेदवार प्रविन लाल दासले जेन्जी आन्दोलनपछि बदलिएको युवाको भावना र आवाजलाई कांग्रेसको मूलधारमा लैजाने प्रतिबद्धता जनाए।

उनले भने, ‘जेन्जी आन्दोलनपछिको बदलिएको कांग्रेसमा मैले जस्तै विद्यार्थी राजनीतिमा रहेर संघर्ष गरेका युवाहरू र उहाँहरूले भोगेको पीडा तथा युवाको आवाज पार्टी कार्यालयसम्म पनि पुर्‍याउन नसकेको अवस्थामा युवाको आवाज पार्टीको मूलधारमा लैजाने प्रयास गर्नेछु। अबको नेतृत्व सुधारिएको, परिवर्तनशील र युवामैत्री हुनेछ।’

थारू महिला क्लस्टरबाट केन्द्रीय सदस्य पदकी उम्मेदवार सुनिता कुमारी राना थारूले आफू पछाडि परेको समुदायको प्रतिनिधित्व गर्दै कांग्रेसलाई थप समावेशी, बलियो र युवामैत्री बनाउन उम्मेदवारी दिएको बताइन्।

उनले भनिन्, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा थारू महिला क्लस्टरबाट मेरो सशक्त दाबी केन्द्रीय सदस्यका लागि छ। नेपाली कांग्रेसजस्तो पार्टीलाई हामीले सशक्त र बलियो बनाउनुछ, युवामय बनाउनुछ र सबैको समावेशी पार्टी बनाउनुछ।’

थारूले कैलाली र कञ्चनपुरमा रहेको रानाथारू समुदाय शिक्षा, स्वास्थ्य र राजनीतिलगायतका क्षेत्रमा अझै पछाडि रहेको बताइन्। आफूले समुदायको नेतृत्व गर्दै राज्यका स्रोत, साधन र अवसरमा पहुँच स्थापित गर्न पहल गर्ने उनको भनाइ छ।

उनले भनिन्, ‘कैलाली र कञ्चनपुरमा मात्रै हाम्रो समुदाय रहेको छ। त्यो समुदाय शिक्षा, स्वास्थ्य र राजनीतिमा कुनै पनि मूलधारमा छैन। सबैमा पछाडि परेको जात हो। मेरो समुदाय सबैभन्दा पछाडि परेको समुदाय हो, अल्पसङ्ख्यक हो। राज्यका स्रोत, साधन र प्रणालीसँग उहाँहरूको डाइरेक्ट लिङ्क छैन। त्यसका लागि म मेरो समुदायलाई लिड गर्न चाहन्छु। एउटा पहिचान दिलाउनका लागि पनि मेरो उम्मेदवारी हो।’

उनले रानाथारू समुदायको उत्थान र हरेक क्षेत्रमा विकासका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताइन्।

रानाथारूले पार्टीभित्र सबै समुदायलाई समेट्ने गरी विधान र निर्देशिका निर्माण गरिएको दाबी गर्दै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने नेतृत्व आवश्यक रहेको बताइन्। ‘हामीसँग सबै जना अटाउने खालको विधान छ। सबैलाई समेट्ने खालको निर्देशिका छ। सबै जना त्यसमा मज्जाले लिड गर्न सक्ने तागत र क्षमता हामीसँग छ। त्यस्तो खालको नेतृत्व आजको आवश्यकता हो,’ उनले भनिन्।

कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले समावेशिता, युवा सहभागिता, पछाडि परेका समुदायको प्रतिनिधित्व तथा पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेका छन्। आगामी निर्वाचनबाट आउने नयाँ केन्द्रीय समितिले पार्टीलाई थप गतिशील र जनमुखी बनाउने अपेक्षा उम्मेदवारहरूले व्यक्त गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *