अवैध यौन सम्बन्धले लियो ज्यान

डिसी नेपाल
२६ माघ २०७६ २२:१०

विराटनगर । दुई छोरीकी एक आमाले अवैध यौन सम्बन्धका कारण ज्यान गुमाउनु परेको छ । यही माघ २४ गते विराटनगर–१२ मलङ्गवाको चक्रपथस्थित उखुबारीमा एक महिलाको बेवारिसे शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङले ती महिलाको हत्या भएको जनाएको छ। महिलाको ज्यान जानुको कारण अवैध यौन सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोपमा पक्राउ परेका सप्तरी जिल्ला मट्टिगढा घर भई मोरङको बूढीगङ्गा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई सार्वजनिक गरेको छ।
मृतक महिला सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियार रहेको जनाएको छ।

क्वालिटी नूडल्स उद्योगमा स्टोर इन्चार्ज भई कार्यरत साहको विगत तीन वर्षदेखि परियारसँग अवैध यौन सम्बन्ध रहेको अनुसन्धानमा पत्ता लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले दिए।

मृतक परियार आरोपित साहको डेरामा दैनिक जाने, खाना बनाइदिने, कपडा धोइदिने लगायतका घरेलु कार्य गर्ने गरेको र बेलाबेलामा घुम्न जाने गरेको खुलेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले दिए।

आरोपित साहले आफूले हत्या गरेको स्वीकार गरेका छन्। मृतक परियारलाई यही माघ २१ गते फोन गर्दा नउठाएको, कोठामा ताल्चा लगाई सम्पर्कविहीन भएकाले खोज्ने क्रममा मोरङको बाँसबारीमा भेटी मोटरसाइलमा सँगै विराटनगर–१२ स्थित चक्रपथ हुँदै मलङ्गवाको पश्चिम उखुबारीमा आपसी विवादका क्रममा रिसको अवेगमा सलले घाँटी थिची बाँसलाई धारिलो हतियार बनाई हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्।

प्रहरीले माघ २४ गते बेवारिस अवस्थामा फेलाको परियारको शवलाई पहिचानका लागि स्थानीय एफएम रेडियो, सामाजिक सञ्जालमा सार्वजनिक गरेको दुई घण्टाभित्र सम्पूर्ण विवरण प्राप्त भएको प्रमुख अधिकारीले जानकारी दिए।

परियारका श्रीमान् वसन्त परियार इलाममा काम गर्ने गरेको र श्रीमती हराएको सम्बन्धमा सोधिखोजी गर्दा साहको नामसहित जाहेरी इलाका प्रहरी कार्यालय मोरङको निमुवामा दिएकोमा अनुसन्धान कार्यमा सहज भएको प्रहरीले जनाएको छ। प्रहरीले मृतक परियारलाई घटनास्थलमा बोकेर लगेको साहले प्रयोग गर्ने मोटरसाइकल र मोबाइल दुई थान बरामद गरेको छ।

मृतक परियारका १६ र १२ वर्षीय दुई छोरी छन्। परियारको हत्यारा पत्ता लगाउन प्रहरीले प्रशिक्षित प्रहरी कुकुरसमेत प्रयोग गरेको थियो। प्रहरीले आरोपी साहलाई थप अनुसन्धानका लागि जिल्ला अदालत मोरङमा म्याद थप गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *