बुवालाई पर्दामा देखेपछि अभिनयमा आउने रहर थियो विशालको, ‘…त्यसपछि लाग्यो पर्दामा आउनेभन्दा ल्याउने काम ठूलो रहेछ’
काठमाडौं। सानैदेखि सिनेमा हेर्न रुचाउँथे, विशाल सापकोटा। हेटौंडाको ओम हल अगाडी मामाघर। त्यहाँ हिन्दी सिनेमाहरु बढी लाग्थे। नयाँ पोष्टर टाँसिएको देख्नासाथ हेर्न पुगिहाल्थे, विशाल।
सिनेमा र मामाघर नजिकै रहेको हलसंगको सामीप्यता यतिसम्म थियो की, बाहिरबाट साउण्ड सुन्ने, सिनेमाको पोष्टर माग्ने, हलको कम्पाउण्डमै साथीभाईसंग खेल्ने गर्थे। सिनेमा हेरिसकेपछि यी मान्छेहरु कहाँबाट आउँछन्? पर्दापछाडी कोही छ की भनेर समेत हेर्थे।
एकदिन फुपूहरुसंग सिनेमा हेर्न गएका थिए। नेपाली सिनेमा थियो, प्रेमपूजा। सिनेमा सुरु भयो। जब पर्दामा आफ्नै बुवालाई देखे, विशाल छक्क परे।
गणेश सापकोटा, विशालको बुवा। काठमाडौं बसेर काम गर्थे, अहिले पनि गर्छन्, प्रोडक्सन म्यानेजरका रुपमा। सानोतिनो भूमिकामा पहिल्यैदेखि अभिनय गर्थे। विशेष गरी कमेडियनको भूमिकामा बढी अभिनय गरेका छन्। विशाललाई त्यतिबेलासम्म बुवा सिनेमामा काम गर्नुहुन्छ भन्ने कुरा थाहा थिएन्। सिनेमा सकिएपछि हलबाहिर गएर पोष्टर हेरे। त्यहाँ पनि बुवालाई देखे। विशाल सुनाउँछन्, –‘त्यसपछि बुवाले सिनेमामा काम गर्नुहुँदो रहेछ, म पनि गर्छु भन्ने भयो।’ विशाललाई पर्दामा देखिन रहर पलायो।

पछि काठमाडौं आएर पढ्न थाले। कक्षा ६ मा पढथे, साल थियो २०५६। एकदिन बुवासंग सिनेमाको सुटिङमा जाने अवसर पाए। बाह्रविसेमा ‘जंगे’ सिनेमाको सुटिङ थियो। निर्देशक थिए, दयाराम दाहाल। विशालले पूरा तीन दिन सुटिङमा विताएका थिए। त्यो तीन दिनको माहोलले विशालको सपना नै परिवर्तन गरिदियो। माहोल हेर्दा उनलाई लाग्यो, पर्दामा आउनेभन्दा पर्दामा ल्याउने काम ठूलो रहेछ। त्यहिबाट पलायो, निर्देशक बन्ने सपना।
हास्य कलाकार विष्णु सापकोटा विशालका काका। विस्तारै काकासंग सिरियलको सुटिङमा जान थाले। हेर्न मात्र होइन्, केही सिरियलमा सानोतिनो भूमिकामा अभिनय समेत गरे।
उनी भन्छन्, –‘त्यतिबेला अभिनयको रहर थिएन्। प्रोसेस बुझ्नका लागि अभिनय गरेको थिए।’
निर्देशक बन्ने सपना बोकेका विशालले फिल्म मेकिङ नै पढे। सन २०१४ मा अमेरिकामा फिल्म मेकिङको पढाई सके, नेपाल फर्किए। त्यसयता सिनेमाबारे थप अध्ययनमा लागे। केही कथाको कन्सेप्ट समेत तयार पारे। निर्मातालाई सुनाए, तर कसैले पत्याएनन्। यत्तिकैमा ‘प्रसाद’ निर्देशक दिनेश राउतलाई कन्सेप्ट सुनाए। उनलाई मनपर्यो। सिनेमामा आफै लगानी गर्न तयार भए। ‘प्रसाद’ निर्माता सुभाष थापा पनि विशालको सिनेमाको निर्माता बने।
विपिन कार्की र लक्ष्मी वर्देवालाई मुख्य कलाकारका रुपमा लिएर ‘सेल्फी किङ’ निर्माण भयो। अहिले सिनेमा देशभरका हलमा प्रदर्शनरत छ। सिनेमा हेरेका दर्शकले रुचाएका छन्। सिनेमाले सबैभन्दा धेरै खुसी सायद विशाललाई दिएको छ। किनकी उनले २० वर्ष अघिदेखिको सपना पूरा भएको छ।







डिसी नेपाल








Facebook Comment