भ्यालेन्टाइन डे का दिन अमेरिकामा ‘प्रकाश श्रेष्ठ नाइट’ सम्पन्न
डिसी नेपाल
वासिंगटन डिसी । चारैतिर कलेजी र रातो रंगका मुटु आकारका चित्रहरुसहितको भ्यालेन्टाइनको थिममा सजिएको कार्यक्रम स्थल र सो वातावरणमा उपस्थित थिए प्रेमिल जोडीहरु । प्राय महिलाहरु रातो पहिरन र पुरुषहरु कालो सुटमा सजिएका । त्यसमाथि थपिएको ‘दाया फूलमायाको पसल, कान्छीको छ वाया, मेरो गाडी पन्चट भयो पन्चट भयो माया,….अल्लारेले माया लाउंदा हुंदो रैछ यस्तै, गोलमाल’ भन्दै बरिष्ठ गायक प्रकाश श्रेष्ठ स्टेजमा प्रस्तुत हुंदा भ्यालेण्टाइन डे मनाइरहेका युगल जोडीमाझ कार्यक्रमको रौनक नै बेग्लै बनेको थियो ।

अमेरिकाको भर्जिनियास्थित तन्दुरी नाइट्स रेष्टुरेण्टमा डिसी नेपाल डट कम र फोटो बैंक स्टुडियोको संयुक्त आयोजनामा भ्यालेन्टाइन डेका लागि ‘बरिष्ठ गायक प्रकाश श्रेष्ठ नाइट’ को प्रसंग हो यो । साँझको ५ बजेदेखि शुरु भएको सो कार्यक्रममा बरिष्ठ गायक श्रेष्ठले अमेरिकावासी नेपालीहरुलाई देशको माटोप्रतिको माया समेटिएको गीत ‘मर्यो जिउंदै जसले बिस्र्यो देशको माटो…..’ गाएर उपस्थित सबैलाई नेपाली माटो र नेपाली वातावारणमा डोहोर्याउने काम गरेका थिए । त्यसपछि लगातार उनका प्रेमसम्बन्धी गीतहरुले बनेको सांगितिक वातावरणमा सहभागी नेपालीहरु रमेका थिए ।

१ सय ५० भन्दा बढी व्यक्तिहरु सहभागी सो कार्यक्रममा अमेरिकामा निकै प्रसिद्ध भइसकेको सांगितिक ब्याण्ड मोक्ष मन्त्रले प्रकाश श्रेष्ठको प्रस्तुतिअघि नै सहभागीहरुलाई मन्त्रमुग्घ पारिसकेको थियो । सो व्याण्डले लाइभ प्रस्तुति दिएको थियो । निकै भव्य प्रस्तुति दिएको मोक्ष मन्त्रलाई स्थानीय नेपाली समुदायले हौसला दिएर अझ उत्साहित बनाएका थिए ।

कार्यक्रममा श्रेष्ठको एकल प्रस्तुतिवाहेक न्यूयोर्कको नेपाली समुदायमा चर्चित बनेकी गायिका सविता श्रेष्ठसंग गायक प्रकाश श्रेष्ठको संयुक्त गीत पनि प्रस्तुत गरियो । गायिका सविताका एकल गीतहरु पनि प्रस्तुत भएको सो कार्यक्रममा डिजे सुगन्ध श्रेष्ठको मेहनतले सांगितिक वातावरणलाई अझ प्रेमिल बनाउन मद्दत गरेको थियो । कार्यक्रममा चर्चित फोटोग्राफर राजीव श्रेष्ठले भ्यालेण्टाइन थिममा उपस्थित जोडीका तस्वीरहरु खिचेका थिए । सो अवसरमा खिचिएका जोडीका छानिएका तस्वीरहरु डिसी नेपाल डट कममा पनि प्रकाशन गरिने आयोजकहरुले जानकारी गराएका थिए ।

उत्कृष्ट जोडी घोषणा कार्यक्रममा कालो सुटमा पुरुष र रातो पहिरनमा महिला सजिएर सहभागी भएका मध्ये पोशाक पहिरनमा उत्कृष्ट जोडीको छनौट गरी घोषणा गरिएको थियो । जसअनुसार, पुनम र लोचनमान श्रेष्ठको जोडी उत्कृष्ट जोडी घोषित भयो ।

बविता श्रेष्ठको संचालनमा भएको सो कार्यक्रममा आयोजकहरुले स्थानीय नेपाली समुदायलाई कार्यक्रममा सहभागिता तथा सक्रियताका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसैगरी स्वयंसेवकहरु र कार्यक्रमका प्रायोजकहरु जेन ट्राभल्स, निशेष भट्टराई र उनको नेपाली रिअल्टर समूह, अर्जुन दाहाल तथा एडी ट्याक्स एण्ड सर्भिसेज,इन्स्योरेन्स, दोवा ढकाल र उनको पीएफएस इन्स्योरेन्स तथा कार्यक्रम स्थल तन्दुरी नाइट्सका संचालक श्याम लामालाई ख्यातिप्राप्त गायक श्रेष्ठको सम्मानस्वरुप आयोजना भएको सो कार्यक्रम सफल बनाउन योगदान दिएकोमा विशेष धन्यवाद ज्ञापन गरेका थिए ।
भिडियो लिंक १ :
https://www.facebook.com/dc.nepal/videos/170691471040826/
भिडियो लिंक २ :
https://www.facebook.com/dc.nepal/videos/241502836854857/







No ads found for this position

डिसी नेपाल
Facebook Comment