आफ्नै जन्मघर साढे १० लाखमा किनेका थिए प्रधानमन्त्री ओलीले

डिसी नेपाल
४ फागुन २०७६ २२:५७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्म दिन मनाउन जन्म घर तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर २ को इवा, पोखरीस्थित घरमा जाँदैछन्। यही फागुन ११ गते उनी ६८ वर्ष पुग्दैछन्। ६९ औं जन्म दिनलाई भव्य बनाउने तयारी इवा, पोखरीमा शुरु भइसकेको छ।

यो जन्मघरमा जन्म दिन मनाउने ओलीको धोको पुरा गर्न भने त्यति सजिलो थिएन। धेरै वर्ष अगाडि ओलीका बाबु मोहनप्रसाद ओलीले यो घर र आफ्नो जग्गा बेचिसकेका थिए। उनीबाट त्यो जग्गा किन्नेले पनि अर्को व्यक्तिलाई बेचेका थिए। पछिल्लो पटक यो घर र जग्गा स्थानीय खगेन्द्र तामाङको स्वामित्वमा थियो। दुई वर्ष अगाडि प्रधानमन्त्री ओलीले आफू जन्मेको घर र बारी किन्ने विचार गरेर मानिसहरुलाई खटाए। सो घर किन्ने काममा सहयोग गरेका एक व्यक्तिका अनुसार ओलीले दुई वर्ष अगाडि सो घर र केही जग्गा साढे १० लाख रुपैयाँमा किनेका हुन्।

ओलीले त्यहाँ प्रचलित मुल्यभन्दा पनि धेरै रुपैयाँ दिएर किनेको सहयोगीले बताए। उनका अनुसार गाउँमा ५ देखि ७ लाख बराबरको मूल्य चल्तीमा रहेको बेला खगेन्द्रले १० लाख रुपैयाँ मुल्य गरेका थिए। तर, ओलीले त्यसमा ५० हजार थपेर जग्गा किनेको सो जग्गा किन्दाका एक सहयोगीले बताए। त्यतिबेला ओलीले साढे २५ रोपनी जग्गा किनेका थिए। ओलीले सो गाउँमा थप २२५ रोपनी जग्गा किन्ने अन्तिम तयारी गरेका छन्। २५० रोपनी जग्गा किनेपछि आफू जन्मेको घरलाई संरक्षण गर्ने र जग्गामा पोलिटेक्निक इन्स्टिट्युट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइको छ।

यही फागुन ११ गतेको जन्मदिनका लागि आइतबार जिल्लाबाट सुरक्षा अधिकारी र पार्टीका नेताहरु इवा पोखरी पुगेका थिए। पार्टीका नेताहरुले त्यहाँ रहेको पोखरी उच्च माध्यमिक विद्यालयमा स्थानीयलाई भेला गरेर जन्मदिन भव्य मनाउनेबारे जानकारी दिएका छन्। साथै सोही दिन इवा, पोखरीलाई मदन भण्डारीको जन्म गाउँ ताप्लेजुङको ढुंगेसाँघु जोड्ने मोटरबाटोलाई पीच गर्ने कार्यको शिलान्यास गरिने जानकारी दिइएको छ। र सोही दिन साहित्यिक कार्यक्रमका लागि प्रज्ञा प्रष्ठिानका अधिकारीहरु पनि आउने माइकिंग गरेर जानकारी दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *