राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घका अध्यक्षमा खत्री
काठमाडौँ । राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घको अध्यक्षमा रिमबहादुर खत्री निर्वाचित भएका छन् ।
सङ्घको आइतबार सम्पन्न दोस्रो अधिवेशनले खत्रीको अध्यक्षतामा १५ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो।
सङ्घको वरिष्ठ उपाध्यक्षमा दलमान गुरुङ, उपाध्यक्षमा शङ्कर गुरागाईं, दीपसागर थापा, प्रकाश कटवाल, महिला उपाध्यक्षमा माया गुरुङ, महासचिव गुणराज खनाल, सचिव भीम श्रेष्ठ, कोषाध्यक्ष नवराज पाण्डे र सहकोषाध्यक्षमा सविन पौडेल रहेका छन् ।
यस्तै सदस्यमा कमल विसी, नवीन बानियाँ, चरित्र विष्ट, दिलु सलामी र नीरा गुरुङ निर्वाचित भएका छन् ।
सो अवसरमा नेपाली काँग्रेसका नेता एवं सांसद भीमसेनदास प्रधानले दोहोरी साँझलाई मर्यादित पेशाका रूपमा विकास गर्दै लैजानुपर्ने बताए ।
“एक्काइस वर्ष उमेर समूहभन्दा कम उमेरका व्यक्तिलाई दोहोरी क्षेत्रमा प्रतिबन्ध गर्ने गरी सरकारले कानून बनाएर लागू गर्नुपर्छ”, उनले भने ।
पूर्वरक्षामन्त्रीसमेत रहेका प्रधानले राष्ट्रिय पहिचानका रूपमा लोकदोहोरी क्षेत्रको विकास गर्नुपर्ने बताए ।
काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले मुलुकको आर्थिक मेरुदण्डका रूपमा दोहोरी व्यवसाय भएकाले दर्ता गरेरमात्र व्यवसाय सञ्चालन गर्नुपर्ने बताए ।
सामुदायिक सेवा केन्द्र गोङ्गबुका अध्यक्ष राकेश सिंहले विकृति, विसङ्गतिमुक्त बसपार्क निर्माणका लागि दोहोरी साँझको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
सङ्घका अध्यक्ष चूडाबहादुर कार्कीले लोकदोहोरी क्षेत्रमा रहेका समस्या समाधान गर्दै सङ्घलाई सम्मानित पेशा बनाउनका लागि सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
विसं २०६९ मा स्थापना भएको सङ्घमा हाल काठमाडौँका ५० व्यवसायी आबद्ध रहेको संस्थापक अध्यक्ष हिक्मत शेरचनले जानकारी दिए ।







डिसी नेपाल








Facebook Comment