प्रेमगीत ३ : यूकेसहित युरोपका ८ देशका लागि ३० लाखमा बिक्री

डिसी नेपाल
७ फागुन २०७६ १४:५१

काठमाडौं। युवा स्टार अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिष्टिना गुरुङको महत्वाकांक्षी चलचित्र ‘प्रेमगीत ३’ अमेरिका, क्यानडा राइट्स बिक्रीपछि युरोपमा पनि बिक्री भएको छ। यूकेसहित युरोपका ८ देशका लागि २३ हजार ५सय युरो (करिब ३० लाख रुपैयाँ)मा विदेश राइट्स बिक्री भएको चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए।

इनास चलचित्र प्रवद्र्धन समितिको ग्लोबल संयोजक मनिष श्रेष्ठ, इनास युरोप कोअर्डिनेटर सन्त कुमार थापा मगरले युकेसहित युरोपका आठ देशका लागि यो चलचित्रको राईट्स किनेका हुन्।

यसअघि ‘प्रेमगीत ३’ को विदेश राईटस् अन्तर्गत अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका) को लागि ४५ हजार डलरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले किनिसकेका छन्।

‘प्रेमगीत’ र ‘प्रेमगीत २’को सफलतापछि ‘प्रेमगीत ३’ निर्माण गरिएको हो। आगामी चैत २८ गतेबाट देशब्यापी प्रदर्शन हुने यो चलचित्रको नेपालमा प्रचार प्रसारको थालनीसंगै सम्पूर्ण देशमा एकसाथ प्रचार–प्रसार गरिनेछ। यस्तै नेपालसँगै विदेशमा पनि प्रदर्शन गर्ने निर्माता सेनले जानकारी गराएका छन्।

चलचित्रको गीत ‘हात्ती ढुँगामा…’भिडियो अघिल्लो साता रिलिज गरिएको थियो। गीतको भिडियो युट्युब नेपाल ट्रेन्डिङ एकमा पर्न सफल भयो। यो चलचित्रको चाँडै ट्रेलर रिलिज गर्ने निर्माता एवम् निर्देशक सेन बताउँछन्।

‘प्रेमगीत ३’लाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन्। चलचित्रका निर्माता सन्तोष सेन हुन्। त्यस्तै सह–निर्माता कुमार सान शाह छन्। यसका कार्यकारी निर्माता डम्बर बिक्रम सेन (मिलन) र चक्रबहादुर चन्द हुन्। चलचित्रमा प्रदीप खड्का, क्रिष्टिना गुरुङसँगै शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्स गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेत लगायतको अभिनय छ।

चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, कल्याण सिंह र एलिश कार्कीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ। ‘प्रेमगीत ३’लाई काठमाडौमा सेट लगाएर ४० प्रतिशत र मनाङमा ६० प्रतिशत छायाँकन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *