शिरीषको माध्यमबाट शंकरसम्म पुगेकी स्मृति, कोरसदेखि निर्देशकसम्मको यात्रा

डिसी नेपाल
९ फागुन २०७६ ८:२७

काठमाडौं। एक समय, स्मृति तिमिल्सिना भिडियोमा कोरस नाच्थिन्। सिनेमाको हिरोइन वा म्युजिक भिडियोकी मोडल बन्ने सपना थियो उनको। कोरसमा नाच्दा धेरैपटक रुन्थिन् उनी। सँगै नृत्य सिकेका साथी मुख्य मोडलका रुपमा र आफू कोरसको रूपमा पछाडी नाच्नुपर्दा रोएका क्षण स्मृतीको स्मृतीमा अझै झल्झली आउँछ। त्यतिबेला शंकर बिसी भिडियोका निर्देशक थिए।

‘म रोएको देखेर उहाँले सम्झाउनुहुन्थ्यो, तिमीलाई मोडल नचाउने बनाउँछु’ त्यो समयको क्षण हाल डिसी नेपालसँग सुनाउँछिन् स्मृति। शंकरले भनेझै अहिले स्मृति म्युजिक भिडियोकी व्यस्त निर्देशक बनेकी छिन्। विशेष त लोकदोहोरी भिडियो निर्देशनमा जमेकी छिन् उनी। युट्युबमा हेरौं, हरेक साताजसो उनी निर्देशित भिडियो सार्वजनिक भइरहेका हुन्छन्।

पहिले ‘डान्सिङ बिट’का भिडियो बढी निर्देशन गरिन्। हिजोआज ‘सेन्टिमेन्टल’ गीतको भिडियो निर्देशनमा पनि स्मृतीको खोजी बढेको छ। सुनाउँछिन्,–‘अहिले सबैले एउटा राम्रो निर्देशक भनेर विश्वास गर्दै हुनुहुन्छ।’ हालसम्म २ हजार भिडियोको निर्देशन गरिसकेको स्मृती दाबी गर्छिन्।
निर्देशक त बनिन्, तर उनको सपना हिरोइन् वा मोडल बन्ने पो थियो !

स्मृती सपना मोड्नुको कारण खुलाउँछिन्, ‘यहाँ संघर्ष गर्दै जाँदा मलाई लाग्यो हिरोइन बन्न सजिलो छैन। रूप चाहियो, हाइट पनि चाहियो। जुन कुरा मसँग छ जस्तो लागेन।’

यता, काम गर्दै जाँदा पाएको प्रतिक्रियाले पनि निर्देशनमै लाग्न प्रेरित गरेको उनी बताउँछिन्। भनिन्, ‘हिरो–हिरोइन/मोडलभन्दा ठूलो निर्देशक रहेछ भन्ने कामले पनि देखायो। त्यो खालको मान–सम्मान पाउँदै गए। त्यसपछि लाग्यो, म हिरो भईसके अब किन बन्नुपर्यो हिरोइन्! ’

सिनेमा प्रेमी

छोरी बाहिर गएर नाचेको परिवारलाई रुच्दैनथ्यो। आमाकै समेत साथ थिएन, स्मृतिलाई। पाल्पाको चापपानीमा जन्मिएकी उनी नाच्नमा सानैदेखि हुरुक्कै। गाउँ नजिकै थियो, सदरमुकाम तानसेन बजार। त्यहाँ थियो, सन्तोष चलचित्र मन्दिर। प्रदर्शनमा आएका अधिकांश सिनेमा छुटाउँदैनथिन्। राजेश हमाल, रेखा थापाका थुप्रै सिनेमा हेरेको स्मृतीलाई याद छ।

एसएलसीपछि तानसेनमा नृत्य सिकिन्, लहरेपिपलमा रहेको मञ्जुश्री कला केन्द्रमा। ६ महिना नृत्य सिकेपछि अरुलाई सिकाउने भइन्। अध्ययनका क्रममा २ वर्ष त्यही कला केन्द्रमै नृत्य सिकाइन्। पाल्पामै स्नातक सकिन्। त्यसपछि मास्टर्स पढ्न काठमाडौं आइन्, २०६५ सालमा। आखिर हिरोइन् वा मोडल बन्ने सानैदेखिको रहर पूरा गर्न काठमाडौं त आउनु नै थियो।

गायक शिरीष देवकोटा उनकै छिमेकी गाउँका। गायन क्षेत्रमा स्थापित भइसकेका थिए उनी। काठमाडौं आएपछि स्मृतिले उनै शिरीषलाई भेटिन्। लोकदोहोरी मोडलिङ तथा निर्देशनमा शंकर बिसी त्यतिबेलै ‘किङ’ मानिन्थे। स्मृतीले शिरीषसँग शंकरलाई भेट्न चाहेको बताइन्।

शिरीषले नै स्मृतीलाई लिएर गए, शंकरको स्टुडियो कृष्ण फिल्मस् कमलादीमा। स्मृतीले शंकरसामु रहर सुनाइन्, ‘मलाई हिरोइन् बन्नु छ, मोडल बन्नु छ।’ शंकरले २/४ महिना नृत्य सिक्न सुझाए। स्मृति शंकरदेव क्याम्पसमा मास्टर्स भर्ना भइन् भने शंकरको स्टुडियोमा नृत्य सिक्न थालिन्। म्युजिक भिडियो तथा चलचित्रका गीतको भिडियोमा मोडल तथा हिरो–हिरोइनका पछाडि कोरसका रुपमा नाच्न थालिन्।

कोरस नाच्दा पीडा हुन्थ्यो, जुन सुरुवातमै सुनाइन। अनि बाध्यता पनि त थियो। बाध्यताबारे भन्छिन्, –‘यो क्षेत्रमा आउन परिवारबाट सपोर्ट थिएन। कोरस नाच्दा दिनको २ सय ५० रुपैयाँ पाइन्थ्यो। त्यो समय यति धेरै भिडियोहरु बनेका थिए। महिनाको हरेक दिनजसो सुटिङ हुन्थ्यो। त्यसको कमाईले यहाँ पढ्न र बस्न सहज बनाएको थियो। त्योसँगै केही सिक्नका लागि कोरस नाचेँ।’

एक सय गीतमा कोरस नाचेपछि शंकरले स्मृतीलाई आफ्नो असिस्टेन्ट निर्देशक बनाए। स्मृतिले शंकरको स्टुडियोमा पनि नृत्य सिकाउन थालिन्। शंकरको असिस्टेन्ट निर्देशक भएर दुई दर्जन सिनेमाको गीतमा काम गरिन्। केही लोकदोहोरी गीतमा पनि।

शंकरसँग एक वर्षजति काम गरेपछि स्मृतिले आधुनिक गीतबाट भिडियो निर्देशनमा डेब्यू गरेकी थिइन्। त्यसपछि हुम गैरे, राधिका हमाल लगायतका लोकदोहोरी गीतको भिडियो निर्देशन् गरिन्।

यद्यपी स्मृतिले केही म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन्। राधिका हमालले उनलाई आफ्नो गीतको भिडियो निर्देशन गर्ने जिम्मा दिएकी थिइन् । कुराकानीका क्रममा राधिकाले मोडलबारे भनेकी थिइन् –‘चकलेटी–चकलेटी केटी चाहिएको हो। तिमी आफै पनि गर्न सक्छौं।’

स्मृतिले राधिका र रामजी खाँणको स्वर रहेको ‘हेराइ ज्यानमारा’ बोलको गीतको भिडियोमा सन्दीप न्यौपानेसँग नृत्य गरिन्,। त्यसयता चार दर्जन बढी भिडियोमा अभिनय गरिन्। रहरले केही गीत पनि गाएकी छिन्।

यद्यपी निर्देशकका रुपमा आफूलाई स्थापित बनाइछाडिन्। स्मृतीले शिरीष देवकोटा, पुश्कल शर्मा, लक्ष्मी न्यौपाने, खुमन अधिकारी, पशुपति शर्मा लगायत प्रायः लोकदोहोरी गायक÷गायिकाहरुको गीतमा काम गरेकी छिन्। ३ वर्षयता अनामनगरमा गुरुआमा फिल्मस् प्रा.लि चलाएकी छिन्। यता, पढाइमा मास्टर्स सकेकी छिन्। भिडियो निर्देशनमा पाएको सफलताको रहस्य आफ्नो मेहनत, क्षमता, दर्शकको माया मुख्य रहेको स्मृति बताउँछिन्।

स्मृतिलाई धेरैले ‘गुरुआमा’ भनेर चिन्छन्। त्यही भनेर बोलाउँछन्। माया–सम्मान दिन्छन्। यो उपनाम हुनुको किस्सा भने निकै रोचक छ। त्यसका लागि ७/८ वर्षअगाडि फर्किनुपर्छ, जतिबेला स्मृति शंकरको स्टुडियोमा डान्स सिकाउँथिन्। एक कार्यक्रम हुँदै थियो, जसका लागि एक हप्तामा ३४ जना कलाकारलाई केही गीतमा नृत्य प्राक्टिस गराउनुपर्ने थियो। पूजा शर्मादेखि दीपकराज गिरी, दीपाश्री निरौलासम्म नृत्य प्राक्टिस गर्न पुगेका थिए।

शंकर र स्मृतिले नृत्य प्राक्टिस गराएका थिए। नृत्य सिकाइरहँदा कलाकारको ध्यान स्मृतीमाथि केन्द्रित थियो।  ‘को रहेछ सानीसानी, एकदमै टाठी यी नानी?’ कलाकारको जिज्ञासा रह्यो।

शंकरले जिज्ञासा मेटाइदिए ‘गुरु हो यहाँको।’ त्यत्तिकैमा दीपकले भने, ‘केटी मान्छे गुरु–गुरु किन भन्ने? गुरु केटी पनि भन्ने कुरो भएन्, गुरु बहिनी पनि भन्ने कुरो भएन्, गुरु आमा भनौं।’ ‘त्यसपछि सबैले ‘गुरुआमा’ भन्न थाल्नुभयो।’— स्मृति किस्सा सुनाउँछिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *