कोरोनाको जोखिलाई ध्यानमा राखी प्रदेश लगानी सम्मेलन स्थगित

डिसी नेपाल
१९ फागुन २०७६ २०:१३

बुटवल । प्रदेश सरकारले आगामी वैशाखमा आयोजना गर्न लागेको प्रदेश लगानी सम्मेलन स्थगन गर्ने भएको छ । विश्वभरि नै कोरोना (कोभिड १९) भाइरसको सङ्क्रमण बढेसँगै नेपाल पनि त्यसको उच्च जोखिममा रहेको अवस्थामा उच्च सतर्कता अपनाउन लगानी सम्मेलन हाललाई स्थगन गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेशमा लगानीको वातावरण जुटाउन आगामी वैशाख ४ र ५ गते बुटवलमा लगानी सम्मेलन आयोजना गर्ने कार्यक्रम थियो । सम्मेलनमा भाग लिन स्वदेशी तथा विदेशी पाहुनासमेत आउने भएकाले कोभिड १९ को सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखी सम्मेलन स्थगन गरिएको सरकारका प्रवक्ता चौधरीले जानकारी दिए । सम्मेलनको अर्को मिति भने परिस्थिति सहज बनेपछि तय गरिने उनले जानकारी बताए ।

यस्तै कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणसँगै सतर्कता अपनाउन केन्द्र सरकारको सजगता तयारीलाई कार्यान्वयन गर्ने निर्णयसमेत गरिएको प्रवक्ता चौधरीले बताए । प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत जिल्लामा आयोजना हुने मेला महोत्सव तथा मानिस भेला हुने कुनै पनि खालका कार्यक्रममा रोक लगाउन निर्देशनसमेत दिने बैठकले निर्णय गरेको उनले जानकारी दिए । बैठकले भौतिक पूर्वाधार मन्त्रालयको प्रस्तावमा सडक निर्माण, मर्मतसम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभासमक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना र सञ्चालनसम्बन्धी विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिए।

यस्तै मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा साझेदारी नियमावली २०७६ लाई स्वीकृत गरेको छ भने प्रादेशिक साहित्य कला प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्नेसमेत निर्णय गरेको छ ।

बैठकले प्रदेश सरकारअन्तर्गतका ११औँ तहका चिकित्सक डा मनिलाल नेवार श्रेष्ठलाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउनेसमेत निर्णय छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *