नेकपाका प्रदेश सभा सदस्य रावल बलात्कार अभियाेगमा पक्राउ

डिसी नेपाल
२१ फागुन २०७६ २०:०५

धनगढी। विवाहित महिलामाथि जबर्जस्ती करणीको आरोपमा नेकपाका सांसद पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल बहादुर रावललाई बुधबार पक्राउ गरेको हो।

प्रदेश सभाका सदस्य रावलमाथि महिलाले आफूमाथि बलात्कारको प्रयास गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन्। धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी महिलाले उजुरी दिएको एक सातापछि रावललाई प्रहरीले पक्राउ गरेको छ। रावललाई हिरासतमा राखी थप अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमती दिएको छ। रावल अछाम क्षेत्र नम्बर २ को ख बाट निर्वाचित नेकपाका सांसद हुन्। उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक हुन्।

प्रदेश सभा सदस्य रावलका बिरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो। जाहेरीमा ती महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणीको दुस्प्रयास गरेको आरोप लगाएकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले रावल पक्राउ गरेको स्वीकार गरे। महिलाको उजुरीपछि पक्राउ पूर्जी जारी गरेको प्रहरीले रावललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी बस्नेतले बताए।

प्रदेश सभाका सदस्य रावल आफ्नाबिरुद्ध उजुरी परेपछि सोका बारेमा बुझ्न बुधवार आफै जिल्ला प्रहरी कार्यालय कैलाली पुगेको बताएका छन्। रावलले आफूमाथि लगाइएको आरोप झुटो भएको बताएका छन्। उनले आफूलाई फसाइएको बताए। रावल स्थानीय तहको निर्बाचनमा मेयरमा पराजित भएका थिए भने प्रदेश सभा निर्बाचनमा बिजयी भएका थिए।

यसअघि नेकपाकै निर्वाचित सांसद तथा सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री दीर्घ सोडारी महिलासंगको अनैतिक सम्बन्धका कारण मन्त्री पदबाट हटाइएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *