छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

डिसी नेपाल
३ चैत २०७६ १३:०४

काठमाडौं । धनुषा, सर्लाही र कञ्चनपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ।

धनुषा, सहिदनगर नगरपालिका–१ कमला बाँध छड्कीस्थित सडकमा ना.४ त ७५८३ नम्बरको ट्याक्टर
अनियन्त्रित भई पल्टिँदा एक जनाको ज्यान गएको छ।

आइतबार दिउँसो भएको दुर्घटनामा परी ट्याक्टर चालक धनुषा कमला नगरपालिका–७ सिंग्याहीमडान बस्ने २२ वर्षीय संजिव महराको घटनास्थलमै ज्यान गएको हो ।

सर्लाही, बाग्मती नगरपालिका–७ तुफानपुरस्थित बाग्मती खोलामा ना.२ त ९९८९ नम्बरको ट्याक्टरबाट खसेर ३२ वर्षीय रामपुजन सहनीको मृत्यु भएको छ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटना लगत्तै ट्याक्टर चालक भने फरार छन् ।

कञ्चनपुर, भिमदत्त नगरपालिका–१० भुजेलास्थित सडकमा म.१ त १११० नम्बरको ट्याक्टर र म.२ प १११२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक सोही नगरपालिका डिमुवा बस्ने ३४ वर्षीय खगेन्द्र जोशीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पताल हुँदै भारतमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ ३४ वर्षीय हरिदत्त जोशीको उपचार भइरहेको छ। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *