एसइई परीक्षा स्थगितको सूचना दिँदै प्रजिअहरु

डिसी नेपाल
५ चैत २०७६ २३:०१

सुर्खेत । मुलुकभर यही बिहीबारदेखि शुरु हुने भनिएको माध्यमकि शिक्षा परीक्षा (एसइई) ‘कोभिड–१९’ को सङ्क्रमण देखिने जोखिम बढेको भन्दै केन्द्र सरकारले परीक्षा स्थगित गरेपछि कर्णाली प्रदेशका १० जिल्लाका प्रमुख जिल्ला अधिकारीले केन्द्राध्यक्षलाई स्थगनको सूचना प्रवाह गर्न थालेका छन् ।

माध्यमिक शिक्षा परीक्षा समन्वय समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारीले गृहको निर्देशन अनुसार आ–आफ्ना जिल्लामा तोकिएका परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई परीक्षा स्थगन भएको जानकारी दिन थालेका हुन् । बिहीबारदेखि हुने एसइई परीक्षामा कर्णाली प्रदेशका १० जिल्लामा १७६ परीक्षा केन्द्र रहेका छन् ।

परीक्षा केन्द्रमा केन्द्राध्यक्षरलाई ‘म्यासेज’ पठाउने र फोन सम्पर्क गरेर जानकारी गराउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिए । प्रजिअ बञ्जाडेले भने, “हिमाली जिल्लामा हिमपात भएकाले निकै चिसो छ । सबै विद्यार्थी केन्द्राध्यक्ष परीक्षा केन्द्रमा पुगिसकेका छन् । उनीहरुलाई धोका नहोस् भनेर जतिसक्दो छिटो जानकारी गराईरहेका छौँ ।”

हिमाली जिल्लामा कतै पानी परिरहेकोले पनि फोन लाग्न नसकेको उनले बताए । उनका अनुसार जुम्लाका सबै परीक्षा केन्द्रका केन्द्राध्यक्ष र नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षलाई जानकारी गराई सकिएको छ ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका परीक्षा शाखा प्रमुख मोतिलाल शर्माले माध्यमिक शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रहरीको आन्तरिक सञ्चारसेटबाट परीक्षा स्थगितको सूचना भइरहेको बताए । कालिका मावि तलिकुडु परीक्षा केन्द्रका केन्द्राध्यक्ष मानबहादुर सिंहले हिउँको बाटो काटेर कार्यस्थलमा पुग्दा परीक्षा रोकिएको खबर पाइएको बताए ।

“विकट भूगोलले गर्दा कर्णालीमा परीक्षार्थीलाई एक परीक्षा केन्द्रबाट अर्को परीक्षा केन्द्रमा जान कतै एक दिन लाग्छ भने कतै घण्टौ पैदल हिँड्नुपर्दछ,” केन्द्राध्यक्ष सिंहले भने, “प्रवेश पत्र लिइसकेका उनीहरुलाई मुखैमा आएर रोकिएको परीक्षाको खबरले निकै आक्रोशित बनाएको छ ।” एसइई परीक्षामा कर्णाली प्रदेशबाट जम्मा ३६ हजार २९९ परीक्षार्थी सम्मिलित हुँदै थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *