चौधरी फाउण्डेसनमार्फत विभिन्न स्वास्थ्यसामाग्री सहयोग

डिसी नेपाल
१२ चैत २०७६ १५:१३

काठमाडौं। चौधरी फाउन्डेसनले कोरोना भाइसर संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्यसामाग्री सहयोग गरेको छ ।

फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले पाल्पा अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थपोस्ट (भेडाबारी), प्राइमेरी हेल्थ सेन्टर (दुम्कौली), लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज)मा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), अक्सिजन उत्पादन उपकरण, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरेको जानकारी दिएका छन् ।

चौधरीले ट्वीटमार्फत अहिलेको मुख्य चुनौती र आवश्यकता अस्पताल र क्वारेन्टाइन, आइसोलेसन सेन्टरको जोखिम मूल्यांकन गरी अत्यावश्यक सामग्री उपलब्ध गराउनु रहेको भन्दै स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गरी सुरक्षा उपकरण उपलब्ध गराउन फाउन्डेसनले केही सफलता हासिल गरेको उल्लेख गरेका छन् ।

चौधरीले स्वास्थ्य उपकरण सञ्चालन गर्न दक्ष जनशक्ति अभाव रहेको भन्दै दक्ष जनशक्तिको अभिमुखीकरणका लागि सम्बन्धित मन्त्रालय र निकायसँग हातेमालो गर्दै अघि बढ्ने समेत प्रतिवद्धता गरेका छन् ।

आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील स्थानमा पीपीईलगायत अन्य सामग्री उपलब्ध गराउने लक्ष्यसाथ अगाडि बढिरहेका छौं, चौधरीले भनेका छन् ।

यसैगरी संक्रमितको उपचारका लागि तयारी गरिरहेका सबै जोखिमपूर्ण स्वास्थ्य संस्थामा पीपीईलगायत अन्य आवश्यक सामग्री अभाव नहोस् भनेर हेल्पलाइन शुरु गरेको र त्यसका लागि ९८५११७२३९८, ९८०१०६७४४३ र ९८०२०२०९५३ मा सम्पर्क गर्न सकिने चौधरीले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *