पश्चिम नेपालका साना नदीमा बहाव बढ्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाडौं। देशका विभिन्न भागमा भइरहेको वर्षाका कारण आज नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पश्चिम नेपालका केही साना नदी तथा खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ।
महाशाखाले कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली र त्यस आसपासका जिल्ला भई बग्ने साना नदीहरूमा बहाव बढ्ने र ती क्षेत्रमा आकस्मिक बाढीको न्यून जोखिम रहन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाको पछिल्लो बुलेटिन अनुसार आज देशका प्रमुख नदीहरू नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, भेरी र पश्चिम सेतीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना देखिएको छ।
अन्य प्रमुख नदीहरूमा भने पानीको बहावमा सामान्य उतारचढाव मात्रै आउने पूर्वानुमान गरिएको छ। जलसतह बढ्ने क्रममा रहेकाले निरन्तर वर्षा भइरहेका क्षेत्रका नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आवश्यक पूर्वसतर्कता अपनाउन महाशाखाले विशेष अनुरोध गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment