दैलेखमा फोर्स मिनीबस कर्णाली नदीमा खस्यो
दैलेख। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साङ्गेतरा क्षेत्रमा एक मिनीबस (फोर्स गाडी) कर्णाली नदीमा खसेको छ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको फोर्स मिनीबस बुधबार बिहान करिब साढे ११ बजे सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ सुरक्षा निकायले तत्कालै उद्धार कार्य अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार अहिलेसम्म घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ।
दुर्घटनाका समयमा गाडीमा कुल कति जना यात्रु सवार थिए भन्ने कुरा अहिलेसम्म यकिन हुन नसकेकाले अन्य यात्रुहरूको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य तीव्र पारिएको उनी बताउँछन्।
दुर्घटना लगतै उद्धार सामग्रीसहित ३५ जना प्रहरीको विशेष टोली घटनास्थलमा खटिएर खोजी तथा उद्धार कार्य गरिरहेको छ।
दुर्घटना भएको उक्त क्षेत्र प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्ने भएकाले पनि प्रहरी टोली सूचना पाउनासाथ तुरुन्तै घटनास्थल पुगेर उद्धारमा जुटेको हो। नदीको तीव्र बहाव र भौगोलिक विकटताका बिच पनि बेपत्ता यात्रु र गाडीको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ।






डिसी नेपाल





Facebook Comment