नार्कद्वारा कृषि-मौसम सल्लाह बुलेटिन जारी: आगामी साता देशभर मनसुनी वायुको प्रभाव रहने
काठमाडाैं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा असार १९ देखि २५ गतेसम्मको अवधिका लागि कृषि-मौसम सल्लाह बुलेटिन जारी गरेको छ।
गत साताभर देशैभर मनसुनी वायुको प्रभावका कारण विभिन्न केन्द्रहरूमा वर्षा मापन भएको थियो, जसमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा १०० मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा रेकर्ड गरिएको छ।
सबैभन्दा बढी वर्षा कोशी प्रदेशको संखुवासभा जिल्लाको नुम केन्द्रमा ३२४.५ मिलिमिटर मापन भएको थियो भने देशका धेरैजसो स्थानमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी पाइएको थियो। आगामी साता पनि देशभर मनसुनी वायुको सामान्य प्रभाव रहने प्रक्षेपण गरिएको छ।
हिमाली भू-भागका केही स्थानहरूमा मध्यमसम्मको वर्षा वा हिमपात हुनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
पहाडी भू-भागका केही स्थानहरूमा मध्यमसम्मको वर्षा हुने र विभिन्न प्रदेशहरूमा साताको सुरु, मध्य र अन्त्यमा भारी वर्षा हुनसक्ने अनुमान छ। तराई भू-भागमा कोशी र मधेश प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा हुनुका साथै साताको सुरु र मध्यमा भारी वर्षाको सम्भावना रहेको छ।
तापक्रमको सवालमा देशभर उल्लेखनीय परिवर्तन नभए तापनि साताको अन्त्यमा केही तराईका भू-भागमा तापक्रम हल्का बढ्न सक्छ। यस वर्षको मनसुन प्रणाली असार १६ गते देशभर फैलिएको र यो सरदर मितिभन्दा ६ दिन ढिलो गरी नेपाल भित्रिएको बुलेटिनमा उल्लेख छ।
यस मौसमी अवस्थालाई ध्यानमा राख्दै नार्कले कृषकहरूका लागि विशेष कृषि सल्लाह जारी गरेको छ। भारी वर्षाको सम्भावना भएका क्षेत्रहरूमा मकैबाली, तरकारी, फलफूल बगैँचा र पशुपन्छीका खोर-गोठ वरिपरि पानी जम्न नदिन उचित निकासको व्यवस्था गर्न सुझाइएको छ।
फलफूल तथा तरकारी बालीमा विषादी प्रयोग गर्दा मौसम हेरेर मात्र छर्कन र वर्षातको समयमा स्टिकर मिसाएर मात्र प्रयोग गर्न आग्रह गरिएको छ। वर्षे धानबालीको राम्रो उत्पादनका लागि सिफारिस गरिएका उन्नत जातको बीउलाई कार्बेन्डाजिमयुक्त विषादीले उपचार गरेर मात्र ब्याड राख्न भनिएको छ।
यसका साथै कोदोको ब्याड राख्न, फलफूलका खाडलमा गुणस्तरीय बिरुवा रोप्न र सुन्तलाजात फलफूलमा लाग्ने विभिन्न रोग तथा कीरा नियन्त्रणका लागि जैविक वा रासायनिक उपायहरू अपनाउन सल्लाह दिइएको छ।
पशुपालन र मत्स्यपालनतर्फ पनि बुलेटिनले विशेष सजग गराएको छ। वर्षातको समयमा पशुचौपायालाई हिलो र ओसिलोबाट जोगाई खुर कुहिने वा पाक्ने समस्याबाट बचाउन र हाँस-कुखुरामा बर्डफ्लु तथा सुँगुर-बंगुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेकाले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउन आग्रह गरिएको छ।
माछापोखरीहरूमा धमिलो पानी मिसिन नदिन र माछा बगेर जान नदिन निकासद्वारमा जाली लगाउनुका साथै पानीको पिएच सन्तुलन कायम राख्न चूनको प्रयोग गर्न सुझाइएको छ।
मौसमसम्बन्धी जिज्ञासाका लागि जल तथा मौसम विज्ञान विभागको पैसा नलाग्ने नम्बर ११५५ र कृषि तथा पशुसम्बन्धी समस्याका लागि नार्कको टोल फ्री नम्बर ११३५ मा सम्पर्क गर्न सकिने जानकारी समेत बुलेटिनमा दिइएको छ।






डिसी नेपाल





Facebook Comment