झापाका स्थानीय तहलाई पिपिइ प्रदान

डिसी नेपाल
२२ चैत २०७६ १९:१९

विराटनगर । प्रदेश नं १ सरकारले झापाका सबै स्थानीय तहलाई शनिबार व्यक्तिगत सुरक्षा कवच (पिपिइ) प्रदान गरेको छ । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले यहाँका १५ वटा स्थानीय तहलाई दुई/दुई वटाका दरले ३० पिपिइ प्रदान गरेको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चापागाईंले जानकारी दिए ।

हाल जिल्लामा आइसोलेसन वार्डमा दुई, क्वारेन्टाइनमा १ सय १० र होम क्वारेन्टाइनमा ९ सय ७० जना छन् । सात जनाको कोरोना परीक्षण गरिएकामा ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । एक जनाको रिपोर्ट आउन बाँकी रहेको संयोजक चापागाईंले बताए ।

‘झापामा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण देखिएको छैन’, उनले भने, ‘त्यसकारण डराउनु पर्दैन तर सजगता अपनाउन जरुरी छ ।’ यसअघि जिल्लामा पिपिइ नहुँदा शङ्कास्पद व्यक्तिको उपचारमा समस्या देखिएको थियो ।

तर हाल मेची अञ्चल अस्पतालमा पर्याप्तमात्रामा पिपिइ रहेकाले समस्या नभएको चापागाईं बताए। कोरोना भाइरसको सङ्क्रमण नदेखिएसम्म मास्क, पञ्जा र टोपी लगाए पुग्ने उनको भनाइ छ । झापाका स्थानीय तहले २२ स्थानमा ३ सय ७६ जना क्षमताको क्वारेन्टाइन बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *