सप्तरीमा एक महिला आइसोलेसनमा

डिसी नेपाल
२२ चैत २०७६ २१:५२

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएकी एक महिलालाई शनिबारदेखि आइसोलेसनका लागि राजविराज ल्याइएको छ ।

शुक्रबार राति ज्वरो आएपछि शनिबार आइसोलेसनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको अस्पतालले जनाएको छ । सो अस्पतालले बिरामी महिलाको घाँटीको स्वाब परीक्षणका लागि सङ्कलन गरेको छ । उनलाई अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरी परीक्षणका लागि स्वाब धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए ।

श्रीमान्सँगै १५ दिनअघि भारतको राजस्थानबाट फर्किनुभएकी कञ्चनरुप नगरपालिका–११ की उनि शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा जाँचका लागि पुगेकी थिइन् । स्वास्थ्यकर्मीले उनलाई कञ्चनरुप नगरपालिका–१० स्थित दुर्गा आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा पठाएका थिए ।

पहिलेदेखि ज्वरो आइरहेको बताएकी उनलाई भारतको राजस्थानबाट १५ दिनअघि आएको थाहा पाएपछि शुक्रबार क्वारेन्टाइनमा पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपका प्रमुख डाक्टर सञ्जीव झाले बताए । डाक्टर झाले भने, “नगरपालिकाको क्वारेन्टाइनमा राखिएका अन्य ४२ जनाको स्वास्थ्य अवस्था समान्य छ ।”

कञ्चनरुप नगरपालिका–१ बैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टाइनमा रहेका २३ जना र वडा नं ११ स्थित दुर्गा अधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका नौ जना भारतको विभिन्न राज्यबाट फर्किएका हुन् । कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माविमा रहेका १० जनामध्ये आठ जना कञ्चनरुप नगरपालिकाका हुन् । सप्तकोशी नगरपालिका र तिरहुत गाउँपालिका एक/एक जना रहेका छन् । उनिहरु सबै जनालाई काठमाडौँबाट फर्किएपछि क्वारेन्टाइनमा राखिएको हो ।

कोरोना भाइरसको रोकथामका लागि नगरपालिका र गाउँपालिकाले सञ्चालन गरेको विभिन्न क्वारेन्टाइनमा हाल ११ महिला र २४२ पुरुष राखिएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । कञ्चनरुपमा पाँच स्थानमा बनाइएको क्वारेन्टाइनमध्ये तीन वटा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या अहिलेसम्म ४३ जना पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *