कोरोना उपचारका लागि तीन देशबाट स्वास्थ्य सामाग्री खरिद गर्ने तयारी
काठमाडौं । कोरोनाभाइरसको सम्भावित जोखिम रोकथाम तथा उपचारका लागि नेपाली सेनाले ३ वटा देशबाट स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ। नेपाली सेना स्रोतले दिएको जानकारी अनुसार सिंगापुर, चीन, र दक्षिण कोरियाबाट सामान ल्याउने तयारी गरेको हो ।
जीटुजी सम्बन्ध कायम गरेर खरिद गर्ने स्वास्थ्य उपकरणसहित औषधि लगायतका सामाग्रीका लागि तीन देशसँग प्रस्ताव गर्ने तयारी गरेको हो । ‘हामीले सिंगापुर, चीन र दक्षिण कोरियासँग आवश्यक सामाग्रीका लागि प्रस्ताव गर्ने तयारी गरेका छौ आज भोली नै राजदूतावास मार्फत पत्रचार गर्नेछौ’, सेना स्रोतले भन्यो ।
सरकारले स्वास्थ्य मन्त्रालय मार्फत चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री महंगो भएको तथा अपुरो रहेको भन्दै विवाद भएपछि नेपाली सेना र स्वास्थ्य मन्त्रालयको संयुक्त टोलीले तीन देशसँग प्रस्ताव गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
कोरोना रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण र औषधिहरुको सूची स्वास्थ्य मन्त्रालयले सेनालाई दिइसकेको छ । सेनाले नेपालमा उपलब्ध हुनसक्ने सामग्री प्रतिस्पर्धाबाट स्वदेशमै खरिद गर्ने र नेपालमा उपलब्ध नभएका सामग्री मात्रै विदेशबाट खरिद गर्ने भएको छ ।
सेनाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल सरकारले मान्यता दिएका स्वास्थ्य सामग्री उपलब्ध गराउने विषयमा आवश्यक परामर्श गर्ने भएको छ । आइतबार मात्रै नेपाली सेनाका प्रवक्ता सहायक रथि विज्ञानदेव पाण्डेले स्वास्थ्य मन्त्रायलसँग समन्वय गरी रक्षा मन्त्रायलले नेपाली सेनामार्फत जीटुजी प्रक्रियाबाट खरिद गर्ने जनाएका थिए । शुरुमा सेनाले मात्रै खरिद गर्न सरकारले पत्रचार गरेको थियो ।
त्यसको सार्वजनिक रुपमै टिका टिप्पणी भए पछि सरकारले स्वास्थ्य मन्त्रालयलाई समेत सहभागी गराएको थियो । कोरोना संकट व्यवस्थापन टोली (क्राइसिस म्यानेजमेण्ट टिम)मा रहेका नपाली सेनाका अधिकारी स्वास्थ्य मन्त्रालयका अधिकारीहरु सहितले विशेषज्ञहरुले स्वास्थ्य उपकरण र औषधिहरुको सूची तयार गरेपछि खरिद प्रकृया अघि बढ्ने छ ।







डिसी नेपाल








Facebook Comment