आँधीबाट अमेरिकामा ६ जनाको मृत्यु

डिसी नेपाल
१ वैशाख २०७७ १३:००

ज्याक्सन।  संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको बिशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य भवनमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।

मिसिसिपी आपतकालीन व्यवस्थापन संस्थाका निर्देशक ग्रेग मिसेलले वाल्थाल काउन्टीमा एक जना, लरेन्स काउन्टीमा दुई जना र जेफरसन डेभिस काउन्टीमा तीन जनाको मृत्यु भएको जानकारी दिए।

अमेरिकी राष्ट्रिय जलवायू विभागले मिसिसिपी राज्यका अन्य क्षेत्रमा पनि तिब्र वेगका साथ हावाहुरी आउने बताएको छ । मेरिडियनको उत्तर अलाबामा राज्यको सीमा नजिक चक्रवात आउने सम्भावना रहेको विभागले जनाएको छ ।

मिसिसिपी राज्यका गभर्नर टेट रीभ्सले राज्यमा हावाहुरीले धेरै क्षति पु–याएको भन्दै आइतबार नै आपतकालीन स्थितिको घोषणा गरेका छन्।

“इस्टर पर्वकै दिन भिषण हावाहुरी आएर जनधनको नोक्सानी हुनु निकै दुःखदायी कुरा हो,” गभर्नर रीभ्सले ट्वीट गर्दै भनेका छन्। “कोरोनाभाइरसको महामारी चलिरहेकै बखत आँधीले दुःख दिए पनि हामी सबै मिलेर यस्ता दुःख निवारण गर्न सक्षम हुनुपर्छ ।”

उत्तर पश्चिम लुजियानामा पनि स्थानीय अधिकारीहरुले राज्यका डीसोटो र वेब्स्टर क्षेत्रमा दर्जनौं घरमा क्षति पुगेको बताएका छन् ।

अमेरिकी जलवायू विज्ञान विभागले पछिल्लो आँधीले मिसिसिपी, अलाबामा र पश्चिम जर्जियामा समस्या निम्त्याउने जनाएको छ । अमेरिकाका दक्षिणी क्षेत्रका धेरै राज्यमा आँधीले नोक्सान गर्ने सम्भावना देखिएको पनि विभागको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.