नेपालमा कोरोना संक्रमित : प्रदेश १ मा ३१ जना, कर्णालीमा शून्य
काठमाडौं । कर्णाली प्रदेश अहिलेसम्म कोरोना संक्रमण मुक्त रहेको छ । विश्वभरी फैलिएको कोरोनाको नेपालमा पनि प्रभाव बढ्दै गएका बेला कर्णाली प्रदेश यो समाचार तयार पार्दासम्म कोरोना मुक्त प्रदेश रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म कर्णाली प्रदेशमा शून्य संक्रमित रहेका छन् । ३ हजार ५ सय ५४ जना क्वारेन्टाइनमा रहे पनि कर्णाली प्रदेश संक्रमण मुक्त रहेको छ । ५ हजार ८ सय ७६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेश कोरोना मुक्त भइरहेका बेला प्रदेश १ भने कोरोनाको संक्रमण सबै प्रदेश भन्दा बढी रहेको छ । विराटनगरमा हालसम्म ३१ जना कोरोना पोजेटिभले उपचार गराई रहेका छन् । ६ हजार १ सय २२ जनाको कोरोना परीक्षण भएको प्रदेश १ मा २ हजार १ सय २४ जना क्वारेन्टाइनमा छन् ।
यस्तै, प्रदेश ५ पनि पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । नेपालगञ्जमा हालसम्म ५ हजार १ सय ९६ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म प्रदेश ५ मा ८ हजार ९ सय २२ जना क्वारेन्टाइनमा रहेका छन् ।
कोरोना संक्रमितको संख्याका आधारमा प्रदेश २ तेस्रो नम्बरमा परेको छ । हालसम्म ५ हजार ७ सय ७८ जनामा कोरोना परीक्षण गरिएको यस प्रदेशमा १३ जना कोरोनाका संक्रमित रहेका छन् । १ हजार २ सय ९० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
यस्तै सबैभन्दा पहिला कोरोनाको संक्रमित फेला परेको प्रदेश ३मा भने हालसम्म ७ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ८ हजार ९ सय ४० जनामा कोरोनाको परीक्षण गरिएको छ भने २ सय ५८ जना क्वारेन्टाइनमा रहेका छन् ।
गण्डकी प्रदेशमा २ जना र सुदुरपश्चिम प्रदेशमा ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । हालसम्म गण्डकी प्रदेशमा ६ हजार ७४ मा कोरोना परीक्षण भएको छ भने सुदुरपश्चिम प्रदेशमा १४ हजार २ सय ४४मा कोरोना परीक्षण भएको छ । ४ हजार २५ जना सुदुरपश्चिमको क्वारेन्टाइनमा छन् भने गण्डकी प्रदेशमा क्वारेन्टाइनमा बस्नेको संख्या ७ सय २६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६६ हजार ७७ जनामा कोरोनाको पिसीआर र आरडिटी परीक्षण विधिबाट परीक्षण गरिएको छ । गत २४ घण्टामा जम्मा १ हजार ५ सय ८२ स्वाब परीक्षण गरिएको छ । गत २४ गण्टामा स्वमूल्याङ्कन गराउने मध्ये थप २ जना रेडजोनमा परेका छन् । हालसम्म जम्मा ३ सय ३० जना रेडजोनमा रहेका छन् र उनीहरुको निगरानी गरिरहेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबारदेखि संचालनमा आएको प्रयोगशालासहित नेपालमा जम्मा १८ वटा प्रयोगशालाबाट कोरोनाको परीक्षण भइरहेको छ ।







डिसी नेपाल







Facebook Comment