उपप्रधानमन्त्री पोखरेलसँग संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिको भेट

डिसी नेपाल
२३ वैशाख २०७७ २२:११

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री एवं सरकारबाट गठित कोरोना रोग नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग नेपालका लागि सं‌युक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि (संयोजक) भायालेरि जुलियड तथा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा जोस भान्देलयरले आज सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले कोरोना भाइरसको सङ्क्रमणलाई नेपालमा फैलन नदिन नेपाल सरकारले उच्च सतर्कता अपनाएको र यस विषयमा विभिन्न तहमा समितिहरू बनाई गम्भीरताका साथ कार्य गरिरहेको बताए ।

सरकारले गरिरहेका कार्यहरूको सराहना तथा यससम्बन्धी विषयमा दिएका सुझावलाई धन्यवाद व्यक्त गर्दै उनले सरकारले गरेको लकडाउन, सीमा नियन्त्रण, विभिन्न प्रदेशबाट कोरोनाको जाँच र परीक्षणको अवस्था, कोरोना रोगको उपचारका लागि निश्चित अस्पतालको व्यवस्थाबारे जानकारी गराए ।

उपप्रधानमन्त्री पोखरेलले विदेशबाट आएका र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने जस्ता कार्यले मुलुकमा कोरोनाको सङ्क्रमणलाई हालसम्म नियन्त्रणमा राख्न सफलता मिलेको बताए । उनले लकडाउनको अवधिमा जनतालाई अत्यावश्यक वस्तु तथा सेवाको उचित वितरण मिलाउन र अभावको महसुस हुन नदिन सरकारले प्रदेश तथा स्थानीय सरकारसँग समेत समन्वय गरिरहेको बताए।

उनले सरकारले सीमित साधन स्रोतको बाबजुद विभिन्न तहमा समन्वय मिलाई कोरोना रोगको रोकथामका लागि सक्दो प्रयास गरिरहेको र नेपालमा मानवीय सहायतालगायत विभिन्न वस्तुको ढुवानी गर्ने हवाई साधनलाई आवश्यक प्रक्रिया पूरा गरी सहमति दिने गरिएको जानकारी गराए ।

उपप्रधानमन्त्री पोखरेलले मानवीय सहायताअन्तर्गत प्राप्त औषधि, स्वास्थ्योपकरण लगायतका वस्तुलाई प्राथमिकता साथ भन्सार जाँचपास हुने व्यवस्था मिलाइएको बताए । उनले सरकारले तत्काललाई कृषि उत्पादनसँग जोडिएको उद्योग, साना तथा मझौला व्यवसाय, जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेर आवश्यक सहजीकरण गर्न सकिने स्पष्ट पारे ।

संयुक्त राष्ट्रसङ्घ एवं विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न नेपाल सरकारले चालेको लकडाउन, सीमा नाकाबाट हुने मानिसको आवतजावतमा नियन्त्रण, सङ्क्रमणको आशङ्का भएका मानिसलाई परीक्षण गरी निश्चित अवधिसम्म क्वारेन्टाइनमा राख्नेलगायतका उपायहरूको सराहना गर्दै यसबाट कोरोना रोगलाई नियन्त्रणमा राख्न सफलता मिलेकोप्रति प्रशंसा गरे ।

प्रतिनिधिले लकडाउनको अवधिमा बालबच्चाको पठनपाठनलाई अवरुद्ध हुन नदिन उपयुक्त उपाय अवलम्बन गर्न पनि आवश्यक रहेको र लकडाउनको अवधिमा सरकारले वितरण प्रणालीलाई सुचारु राख्न अवलम्बन गरेका उपायहरूको प्रशंसा गरे। साथै, भौतिक र सामाजिक दूरी कायम राख्ने विषयलाई अझ कडाइका साथ पालन गर्न आवश्यक रहेको उनिहरुले सुझाव दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.