मनाइयो २५६४ औँ बुद्ध जयन्ती, घर घरमा दीपावली

डिसी नेपाल
२५ वैशाख २०७७ २०:४१

काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६४औँ जन्म जयन्ती घर घरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पु¥याउनुभएको योगदानको स्मरणमा उहाँप्रति आराधना, ध्यान गरी मनाइन्छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उनले जन्म लिएका थिए ।

राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छाडी दुःख निवारणका कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्किए । तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उनले विश्व शान्ति स्थापनाका लागि सहयोग पु¥याए ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । उनको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाएका छन् ।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्म जयन्तीका अवसरमा यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक रुपमा कुनै कार्यक्रम आयोजना गरिएन ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि भने पूरा गरियो । आम नागरिकले भने बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाएका छन् । सरकारले कोरोनाबाट बच्ने शक्ति प्राप्तिका लागि प्रार्थना गर्न आह्वान गरेको थियो ।

लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यस वर्ष यी स्थलमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाइएको काठमाडौँ महानगरपालिका वडा नं। –६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले बताए ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.