थप क्वारेन्टाइन निर्माणमा गरिँदै

डिसी नेपाल
२ जेठ २०७७ १६:४२

भजनी । टीकापुर नगरपालिका थप क्वारेन्टाइन निर्माणमा जुटेको छ । भारतले लकडाउन खुकुलो बनाउनाका साथै रेल सेवा सञ्चालनमा ल्याएसँगै त्यहाँबाट नेपाली नागरिक आउन सक्ने भन्दै थप क्वारेन्टाइन निर्माणका लागि नगरपालिकाले पहल शुरु गरेको हो । यसका लागि नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग छलफलसमेत गरेको छ ।

राम्रो भौतिक संरचना रहेका १७ वटा विद्यालयका प्रधानाध्यापकसँग नगरपालिकाले विद्यालयलाई आवश्यक परे क्वारेन्टाइन निर्माण गर्नेबारे छलफल भएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए । उनले हाल चारवटा क्वारेन्टाइन तयारी अवस्थामा रहेको र ती क्वारेन्टाइनमा ४०० जनासम्म राख्न सकिने बताए ।

उनले भारतबाट स्थानीयवासी आएपश्चात् क्वारेन्टाइन व्यवस्थापन गर्न कठिनाइ हुनसक्ने भन्दै पूर्व तयारीका लागि छलफल गरिएको बताए । “सबै विद्यालय क्वारेन्टाइनका लागि दिन तयार छन् ।” नगर प्रमुख रावलले भने, “सबै मावि तहका उपयुक्त विद्यालयलाई क्वारेन्टाइनका लागि पूर्वतयारी गरेका छौँ ।”

हाल नगरपालिकामा आठजना क्वारेन्टाइनमा रहेका छन् भने टीकापुरमा अस्थायी बसोबास गर्दै आएका २६ जना भारतीय नागरिकलाई नगरपालिकाले भारतको पलिया पु¥याएको छ भने पलियाबाट १८ जना स्थानीयलाई ल्याउने तयारी भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए। उनले भारतको निघासनमा १५० जनाभन्दा बढीलाई भारतले क्वारेन्टाइनबाट पठाइसकेका कारण उनीहरु जुनसुकै बेला पनि नेपाल प्रवेश गर्न सक्ने भएको हुँदा क्वारेन्टाइनको व्यवस्थापनका लागि नगरपालिकाले पूर्वतयारी थालेको बताए ।

हालसम्म टीकापुर नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा रु ११ लाखभन्दा बढी खर्च गरिसकेको छ । नगर प्रमुखका स्वकीय सचिव निर्मला चौधरीले रु चार लाख सङ्घीय सरकारबाट क्वारेन्टाइन व्यवस्थापनका लागि आएको र बाँकी रु सात लाखभन्दा बढी नगरपालिकाले खर्च गरिसकेको जानकारी दिए । उनले क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारमा बढी खर्च भएको बताए ।

भारतले नेपाली नागरिकलाई क्वारेन्टाइनबाट छोड्न थालेपछि लुकीछिपी नेपाल प्रवेश गर्नेसमेत बढेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले लुकीछिपी आएका तीनजनालाई क्वारेन्टाइनमा राखेको छ भने भजनी नगरपालिकाको लालबोझीबाट प्रवेश गरेका थप तीनजनालाई पनि प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.